काठमाण्डौ । पूँजीबजारको प्रमुख निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा र निमित्तको जिम्मेवारी पाएकाहरुले प्रभावकारी नेतृत्व गर्न नसक्दा विभिन्न गिरोहहरुले थोरै सप्लाई भएका सेयरमा चलखेल गरी सर्वसाधारणलाई फसाउने काम गरिरहेका छन् । खुलेआम यस्तो काम हुँदा समेत नियामक तै चूप मै चूप छन् । सर्वसाधारण चाहिँ कमजोर, तर खेलाडीले चलाइरहेको कम्पनीकै पछि लागेर निर्धक्क लगानी खन्याइरहेका छन् । यस्तो लगानी जुनसुकै बेला डूब्नसक्ने जोखिम देखिएको छ ।
पछिल्लो उदाहरणको रुपमा गोर्खाज फाइनान्सलाई लिन सकिन्छ । वित्तीय रुपमा यो फाइनान्स निकै कमजोर हो । तर, यसको सेयरमूल्य जम्मा ११ कारोबार दिनमा ६३ प्रतिशतले बढाइएको छ । यसरी खुलेआम चलखेल हुँदा समेत यस्ता विषयमा कसैले चासो दिएको देखिएन।
मार्च ३ मा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५८०.१० रुपैयाँ रहेको थियो । त्यसपछिका १० कारोबार दिनमा यसको मूल्य बढाएर प्रतिकित्ता ९४६ रुपैयाँ पुर्याइएको हो । हिजो अर्थात बुधबार यो कम्पनीको सेयरमूल्य ९४६ रुपैयाँ पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन आज(बिहीबार) भने बजार खुलेदेखि नै गोर्खाज फाइनान्सको सेयरमूल्यमा बिक्रीचाप देखिएको छ । खेलाडीहरुले प्रफिट बुकका लागि सर्वसाधारणलाई सेयर भिडाउन थालेपछि गोर्खाज फाइनान्समा आज बिक्री चाप देखिएको हो ।
कुनै बेला एउटा गिरोहले गोर्खाज फाइनान्सको सेयरमूल्य नवील बैंकभन्दा माथि पुर्याउने खुलेआम घोषणा गरेको थियो । नवील बैंकको भन्दा बढी सेयरमूल्य हुनुपर्ने कुनै पनि आधार, कारण नहुँदा समेत त्यो गिरोहले अहिले भने नवील बैंकभन्दा गोर्खाज फाइनान्सको सेयरमूल्य निकै माथि पुर्याइदिएको छ ।
नवीलजस्ता वाणिज्य बैंकहरुको निकै ठूलो परिमाणको सेयर बजारमा सूचीकृत भएको हुन्छ । धेरै ठूलो सेयर कित्ता हुने कम्पनीमा चलखेल गर्न नसकेर गिरोहले गोर्खाज फाइनान्सजस्ता थोरै कित्ता सेयर भएका साना कम्पनीहरुमा चलखेल गरी आफ्नो धन्दा चलाउँछन् ।
उदाहरणका लागि गोर्खाजको दोश्रो बजारमा सूचीकृत साधारण सेयर संख्या ३४ लाख ७१ हजार ९७४ कित्ता रहेको छ । कुल ८६ लाख ७९ हजार ९३७ कित्ता सूचीकृत भएकोमा ६० प्रतिशत प्रमोटर सेयर हो ।
नवील बैंकको साधारण सेयर मात्रै १० करोड ८२ लाख २७ हजार ९८८ कित्ता दोश्रो बजारमा सूचीकृत छ । कुल २७ करोड ५ लाख ६९ हजार ९८४ कित्ता सूचीकृत छ ।
गोर्खाजको वित्तीय अवस्था
कम्पनी वार्षिक साधारणसभा समयमै गर्न नसक्ने अवस्थामा रहेको छ । गोर्खाज फाइनान्सले आफ्नो २८ औं र २९ औं वार्षिक साधारणसभा एकैपटक गत चैत २ गते बल्लतल्ल गरेको थियो ।
ती दुवै वर्षका लागि यो कम्पनीले सेयरधनीलाई कुनै रिटर्न दिएको देखिन्न । साधारणसभा सम्बन्धी सूचनामा लाभांश सम्बन्धी कुनै प्रस्ताव लगिएन ।
समयमै साधारणसभा गर्न नसक्ने कम्पनी संस्थागत सुशासनमा पनि उत्तिकै कमजोर देखिन्छ ।
न सेयरधनीलाई कुनै रिटर्न, न संस्थागत सुशासनमै अब्बल, हुँदा–हुँदा कम्पनीको वित्तीय अवस्था समेत सन्तोषजनक देखिन्न।
चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्टअनुसासर झण्डै ८७ करोड चुक्तापूँजी रहेको यो कम्पनीले १२ करोड १६ लाख खूद नाफा आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५१ करोड ९४ लाखले ऋणात्मक छ ।
खराब कर्जाले यो कम्पनी थिचिइरहेको उसकै रिपोर्टले देखाउँछ । समीक्षा अवधिमा गोर्खाज फाइनान्समा खराब कर्जाको अनुपात १३.७३ प्रतिशत छ । अघिल्लो वर्ष यही अवधिमा ६.७६ प्रतिशत मात्र थियो । राष्ट्रबैंकले खराब कर्जाको अनुपातलाई ५ प्रतिशतभित्र राख्नुपर्ने नियम लागू गरे पनि यो कम्पनीले विगतदेखि नै सो नियमको पालना गरेको छैन । गत वर्षभन्दा यो वर्ष खराबकर्जा अत्यासलाग्दो गरी बढेको आँकडाले देखाउँछ ।
दोश्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.५९ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा गोर्खाज फाइनान्सको रिजर्भको आकार समेत घटेको देखिन्छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                