काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १८.४० अंकले घटेर २ हजार ४८७.१७ विन्दुमा सीमित बनेको छ ।
नेप्से परिसूचक एक वर्षपछि २४ सय विन्दुमा झरेको हो । यसअघि २०८१ असोज १० गते बजार २५ सय विन्दु तल आएको थियो ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४३५.२९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘अहिले बजार घट्नुको मूख्य कारण भनेकै राजनीतिक अस्थिरता हो । राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा १२ खर्ब लगानीयोग्य रकम छ । तर जेनजी आन्दोलन पछि उद्योगी व्यवसायीको मनोबल घट्यो । त्यसलाई सम्बोधन गर्ने गरे अहिले सरकारले खासै काम गरे जस्तो देखिदैन ।’ उनले थपे, ‘यही बेला नियामक निकायमा पनि आन्दोलन चलिरहेको छ । उनीहरुले आन्दोलन रोकेर विश्वासको वातावरण बनाउनु पर्ने हुन्छ ।’
तिहार तथा छठ पछि बजारले तय गर्ने दिशाको विषयमा अन्यौलता रहेका कारण बजार घट्न पुगेको उनको तर्क छ ।
त्यसैगरि, अर्का बजार जानकार उपेन्द्र पाठकले पनि अहिलेको सेयरबजारको अवस्था राजनीतिक अस्थिरताको उपज भएको बताए । ‘अहिले नियामक लचक भएकै छन् । सधैं नियामकलाई मात्रै दोष लगाउन पनि हुँदैन,’ उनले भने, ‘सबैले सुरक्षित महसुस नगर्दा पूँजीबजार घटेको छ र पूँजी पलायनको भय पनि देखिन्छ ।’
उनले जेनजी आन्दोलनले २ दिन मात्रै आगो लागेको तर सेयर बजारमा भने दैनिक आगो लागिरहेको प्रतिकृया दिए । यसलाई रोक्न सरकाले विश्वासको वातावरण बनाउनु पर्नेमा पनि उनले जोड दिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज बैंकिङ र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.०२ र ०.२१ प्रतिशतले बढ्यो ।
अन्य समूह आज सर्वाधिक अर्थात २.२१ प्रतिशतले घट्यो । यस्तै विकास बैंंक समूह १.१५ प्रतिशत, फाइनान्स १.२८, होटल ०.५२, हाईड्रो १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.७३, निर्जीवन बीमा ०.५३ र व्यापार समूह ०.३९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन मुक्तिनाथ विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ३० लाख बढीको सेयर कारोबार भयो । यो दिन नेपाल पुनर्बीमा कम्पनीको पनि १३ करोड ४ लाख, शिवम् सिमेन्टको ११ करोड २८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ७९ लाख र हिमालयन रि इन्स्योरेन्स कम्पनीको ९ करोड ६४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९३ प्रतिशतले बढ्यो ।
कालिका लघुवित्तको सेयरमूल्य पनि आज ५.६९ प्रतिशत, इन्फिनीटी लघुवित्तको ३.८९ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरमूल्य ३.७९ प्रतिशतले बढ्यो ।
आज सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा समाज लघुवित्त रह्यो । १० प्रतिशतको गिरावट आज यो कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो ।
यसैगरी, युनिक नेपाल लघुवित्तको सेयरमूल्य ७.३३ प्रतिशत, समता घरेलु लघुवित्तको ६.२५ र अपर स्याङ्गे हाईड्रोपावरको सेयरमूल्य ४.८७ प्रतिशतले घट्यो ।