काठमाण्डौ । अमेरिकी सेयरबजार मापक इन्डेक्स डाउ जोन्स इन्डस्ट्रियल एभरेजले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा डाउ जोन्स ०.४७ प्रतिशत अर्थात २१८ अंकले बढेर नयाँ रेकर्ड बनाएको हो ।
यो सँगै डाउ जोन्स इनडेक्स ४६ हजार ९२४ विन्दुमा बन्द भएको छ । कोका कोला र थ्रिएम जस्ता कम्पनीको आम्दानीमा देखिएको आकर्षक वृद्धिका कारण डाउ जोन्समा हरियाली छाएको हो ।
यस्तै एस एण्ड पी ५०० इन्डेक्स भने ०.२२अंकले बढेर ६ हजार ७३५ विन्दुमा बन्द भएको छ । नास्डक कम्पोजिट भने ०.१६ प्रतिशतले घटेर २२ हजार ९५३ विन्दुमा सीमित बनेको छ ।
यतिबेला अमेरिकी लगानीकर्ताको नजर कम्पनीहरुले सार्वजनिक गर्ने तेस्रो त्रैमासको वित्तीय विवरणमा रहेको छ । ठूला कम्पनीहरुको आएको राम्रो रिपोर्टले बजारको वृद्धिलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुले अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेका छन् ।