काठमाण्डौ । रंगहरको पर्व होली आज देशभरका पहाडी तथा हिमाली भेगमा हर्षोल्लासका साथ मनाइएको छ । सेयर बजारका लगानीकर्ताले पनि होली पर्वलाई उल्लासमय तरिकाले मनाएका छन् । लगानीकर्ताहरुले साथीभाईसँग खुलेर होली मनाएका छन् । लगानीकर्ता तथा तिनका नेताहरुले परिवारजन तथा साथीभाईहरुसँग रमाईलो गरेर होली मनाएको बताएका छन् ।
पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आज काठमाण्डौमा परिवार तथा आफन्तहरुसँग होली मनाएको बताएकी छिन् । ‘बिहान काठमाण्डौको पाटनमा होली पर्व मनाइयो । अहिले कपनमा रहेको दिदी–भिनाजुको घरमा होली मनाईरहेकी छु । उनले भनिन् । पोखरेलले गत वर्षहरुको होलीभन्दा यस पालीको होली केही सभ्य र मर्यादित भएको बताइन् । ‘पहिलेका वर्षहरुमा एक साता अघि देखि नै लोला हान्ने गरिन्थ्यो । हामीहरुलाई हिड्नै मुश्किल हुने गर्थ्यो । तर अहिले त्यस्तो देखिएन । अहिलेको होली धेरै सभ्य र मर्यादित देखिएको छ ।’
त्यसै गरि नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियाल पनि तीन घण्टादेखि काठमाण्डौको ताहाचलमा आफन्त तथा साथिहरुसँगको सामिप्यतामा होली मनाई रहेका बताए । रौनियारले ३०/४० जना साथीहरुसँग घरबाटै विभिन्न पकवान तयार पारेर लगेर अग्रजहरुबाट आर्शिवाद लिएर होली मनाएको बताए । ‘आपसी सद्भाव कायम गर्ने होली नेपालीहरुको महान सामाजिक पर्व हो । हामी ३/४ घण्टा देखि जमघट गरिरहेका छौ । हामी रंग नखेलि अर्गानिक अबिर मात्रै खेल्छौ । ’रौनियारले भने ।
लगानीकर्ता रोहन कार्कीले साथीभाई तथा इष्टमित्रहरुसँग मिलेर होली मनाईरहेको बताए । कार्की भन्छन्,‘ म त अहिले त्रिसारामा होली पर्व मनाई रहेको छु । यो पर्व आपसमा मित्रता तथा सद्भाव जागृत गर्ने र आफुभित्र रहेका नकारात्मक तत्वहरुलाई नष्ट गर्ने उदेश्यले मनाइने गरिन्छ । त्यसेले यो पर्व मलाई निकै रमाइलो लाग्छ । ’
त्यसै गरि सेयरधनी लगानीकर्ता संघका सदस्य राम कृष्ण कपालीले परिवारसँग घुमघाम गरेर, वसन्तप्ुर तथा काल भैरव मन्दिरमा पूजाआजा गरेर होली मनाएको बताए ।