शुक्रबार, श्रावण २२,२०८३ 03:53:38
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:53:38
Bizshala
Global IME Bank Limited

हाइड्रोपावर कम्पनीहरुको वित्तीय अवस्था सुधारिदै, शतप्रतिशतले बढ्यो मुनाफा

विद्युत बिक्री आम्दानी रु.२८.१० अर्ब पुग्दा इपीएस कुनको कति ?

हाइड्रोपावर कम्पनीहरुको वित्तीय अवस्था सुधारिदै, शतप्रतिशतले बढ्यो मुनाफा
New Office

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ६ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १०२.५७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले समग्रमा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ९७ हाइड्रो कम्पनी सूचीकृत छन् । जसमध्ये ९३ कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने ४ कम्पनीको रिपोर्ट आउन अझै बाँकी छ ।

सो अवधिसम्म आइपुग्दा अधिकांश कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । दोस्रो त्रैमाससम्म ७६ हाइड्रो कम्पनी नाफामा उक्लिएका छन् भने १७ कम्पनी मात्रै घाटामा देखिएका छन् । गत आवको सोही अवधिसम्म भने २८ कम्पनीले घाटा ब्यहोरेका थिए ।

नाफामा उक्लिएका ७६ हाइड्रो कम्पनीले मात्रै दोस्रो त्रैमाससम्म ८ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् । घाटा ब्यहोर्ने कम्पनीहरुको घाटा कुल नाफामा कटौती गर्दा समग्र हाइड्रो कम्पनीहरुले दोस्रो त्रैमाससम्म झण्डै ७ अर्ब जति नाफा कमाएका हुन् ।

हाइड्रोपावर कम्पनीहरुले दोस्रो त्रैमाससम्म आइपुग्दा विद्युत बिक्री आम्दानी बढाउनुका साथै इन्स्योरेन्स कम्पनीहरुबाट दाबीको रकम पाएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । गत असोज महिनामा आएको बाढीले हाइड्रो कम्पनीहरुको प्रोजेक्टमा ठूलो क्षति पुगेको थियो तर कम्पनीहरुले बीमा कम्पनीमा बीमाको दाबी गरेअनुसार चाँडै भुक्तानी पाएपछि कम्पनीहरुको नाफामा सुधार देखिएको हो ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ८२ करोड २१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।

यता कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीले विद्युत बिक्रीबाट ६ अर्ब ७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ८१.४४ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रो बढी नाफा कमाउने कम्पनीमा साहज उर्जा रहेको छ । कम्पनीले ९० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २७.४६ प्रतिशत बढी हो । साथै कम्पनीको विद्युत बिक्री आम्दानी समेत ५.५२ प्रतिशतले बढेको छ ।

गत आवको दोस्रो त्रैमाससम्म ठूलो घाटा ब्यहोरेका केही कम्पनीहरुले चालु आवको यस अवधिसम्म राम्रै मुनाफा कमाउन सफल भएका छन् जसकारण हाइड्रो कम्पनीहरुको नाफामा सुधार देखिएको हो ।

सो अवधिसम्म सबैभन्दा धेरै घाटा ब्यहोर्ने कम्पनीमा भने रसुवागढी हाइड्रोपावर रहेको छ । कम्पनीले १ अर्ब ८ करोड १४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

विद्युत बिक्री आम्दानी २४.९८५  ले बढ्यो

हाइड्रोपावर कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत २८ अर्ब १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन् । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा २४.९८ प्रतिशत बढी हो ।

गत आवको दोस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले विद्युत बिक्रीमार्फत २२ अर्ब ४८ करोढ ८१ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

सो अवधिसम्म आइपुग्दा अधिकांश कम्पनीको यस्तो आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । जसकारण कम्पनीहरुको नाफा वृद्धिमा टेवा पुगेको हो ।

विद्युत बिक्रीमार्फत पनि सबैभन्दा धेरै आम्दानी गर्नेमा अप्पर तामाकोशी नै रहेको छ । कम्पनीले विजुली बेचेरै ६ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ८१ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रोमा साहज उर्जाले १ अर्ब ७० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत आवको तुलनामा ५.५२ प्रतिशत बढी हो ।

यसका साथै ग्रीन भेन्चर्स लिमिटेडले १ अर्ब १ करोड, अपि पावर कम्पनीले ९५ करोड ९२ लाख, माउन्टेन इनर्जीले ९१ करोड ४४ लाख र सानिमा मिडिल तमोरले ८८ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इपीएस कुनको कति ?

हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

अझै धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि त कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । सबैभन्दा बढी इपीएस साहज उर्जाको रहेको छ । कम्पनीको इपीएस ३९.५७ रुपैयाँ छ ।

त्यस्तै, राधी विद्युत कम्पनीको ३२.४६ रुपैयाँ, अप्पर तामाकोशीको २९.८१ रुपैयाँ, मान्डु हाइड्रोको २६.८५ रुपैयाँ, सिकलेस हाइड्रोको २४.९४ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको २१.१५ रुपैयाँ, मकर जितुमाया सुरी हाइड्रोको २१.०६ रुपैयाँ र युनाइटेड इदि मार्दीको २०.९४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.