काठमाण्डौ । दक्षिण कोरियाको सेयर बजारमा ठूलो गिरावट आएको छ । त्यहास्थित प्रमुख सेयर सूचकांक–कोस्पी इन्डेक्स बुधबार ७.२४ प्रतिशतले घटेको छ । मध्यपूर्वमा चर्किंदो द्वन्द्वका कारण लगानीकर्तामा बढेको अनिश्चितताले बजारमा दबाब सिर्जना गरेको जनाइएको छ । अघिल्लो सत्रमा कोस्पी इन्डेक्सले पछिल्लो १९ महिनाकै सबैभन्दा खराब प्रदर्शन गरेको थियो।
एशियाली क्षेत्रका लगानीकर्ताको ध्यान चीनमा सुरु हुन लागेको वार्षिक संसदीय बैठकतर्फ पनि केन्द्रित रहेको छ। ‘टु सेशन्स’ भनिने यस बैठकअन्तर्गत परामर्शदात्री कंग्रेस बुधबारदेखि सुरु हुँदैछ भने राष्ट्रिय जनकांग्रेस (एनपीसी) बिहीबारबाट औपचारिक रूपमा प्रारम्भ हुनेछ। लि क्वाङले एनपीसीमा यसअघि डिसेम्बरमा तय गरिएका आर्थिक लक्ष्यहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
एशियाका अन्य बजारहरूमा पनि गिरावट देखिएको छ। अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० १.८६ प्रतिशतले घटेको छ भने जापानको निक्की२२५ इन्डेक्स ३.२५ प्रतिशतले ओरालो लागेको छ। हङकङको हाङसेङ इन्डेक्स करिब २ प्रतिशतले घट्दा चीनको साङघाई कम्पोजिट ०.६७ प्रतिशतले कमजोर बनेको छ। भारतको निफ्टी ५० भने स्थिर अवस्थामा रहेको छ।
यसैबीच, चीनको फेब्रुअरी महिनाको आधिकारिक उत्पादन खरिद प्रबन्धक सूचकांक (पीएमआई) ४९ मा झरेको छ, जुन अर्थशास्त्रीहरूले अपेक्षा गरेको ४९.१ भन्दा कम हो। लामो सार्वजनिक बिदाका कारण उत्पादन र ढुवानीमा आएको सुस्तताले उद्योग क्षेत्रमा संकुचन देखिएको सरकारी तथ्यांकले जनाएको छ।
ऊर्जा बजारमा भने कच्चा तेलको मूल्य बढेको छ। अमेरिकी कच्चा तेलको मूल्य ०।८७ प्रतिशतले बढेर प्रतिब्यारेल ७५.२१ डलर पुगेको छ भने ब्रेन्ट क्रुड ५.४३ प्रतिशतले उक्लेर ८१.९६ डलरमा कारोबार भएको छ। इरानले बन्द गर्ने चेतावनी दिएपछि आपूर्ति अवरोधको चिन्ताले तेलको मूल्यमा तीव्र वृद्धि भएको हो।
इरानको रिभोलुसनरी गार्डका एक वरिष्ठ कमाण्डरले उक्त सामरिक मार्ग बन्द गरिएको दाबी गर्दै त्यहाँबाट आवतजावत गर्ने जहाजलाई निशाना बनाइने चेतावनी दिएका छन्। यसप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिकी नौसेनाले तेल ट्यांकरहरूलाई सुरक्षा प्रदान गर्ने बताएका छन्। उनले अमेरिकाले विश्वका लागि ऊर्जा आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी सेयर बजारमा पनि अस्थिरता देखिएको छ। डाउ जोन्स इन्डस्ट्रियल एभरेज ०.८३ प्रतिशतले घटेर ४८ हजार ५०१.२७ मा बन्द भएको छ। एस एण्ड पी ५०० इन्डेक्स ०.९४ प्रतिशतले घट्दा नास्डक कम्पोजिट १.०२ प्रतिशतले ओरालो लागेको छ।
मध्यपूर्वी तनाव र सम्भावित दीर्घकालीन अमेरिका–इरान द्वन्द्वको आशंकाले विश्व वित्तीय बजारमा उच्च अस्थिरता सिर्जना गरेको विश्लेषकहरूले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।