काठमाण्डौ । चुनावी परिणामले साना मात्र नभई ठूला सेयर लगानीकर्ता र खेलाडी समेत उत्साहित देखिएका छन् ।
चुनावपछिको राजनीतिक परिदृश्यको प्रक्षेपण गर्न चुकेका ठूला र धेरै संस्थागत लगानीकर्ताहरुले रास्वपाको नेतृत्वमा प्रचण्ड बहुमतको सरकार बन्ने भएपछि त्यसलाई भव्य स्वागत गर्दै मंगलबारदेखि बजार प्रवेश गरेको छनक दिएका छन् ।
ठूला खेलाडी र लगानीकर्ताहरु समेत आक्रामक ढंगले बजार प्रवेश गरेका कारण सेयर बजारमा एकघण्टा नपुग्दै १० अर्ब बढीको कारोबारको नयाँ इतिहास रचिएको छ ।
नेप्सेको इतिहासमा हालसम्म एक घण्टा नबित्दै अहिलेसम्म कुनै पनि दिन १० अर्ब बढीको कारोबार भएको थिएन ।
आज(मंगलबार) बजार खुलेदेखि नै अत्याएर कित्ता लुट्ने र आफ्नो झोली भर्ने खेल चलिरहेको छ । कतिपयले सर्वसाधारण लगानीकर्ताहरुलाई अत्याउनका लागि सुरुवातमा सप्लाई दिए र लगानीकर्ताबाट थप सप्लाई लिएर आफूले खाने काम गरे । अहिले राम्रा कम्पनीको सेयर धमाधम उठाउने अभियानमा ठूला लगानीकर्ताहरु देखिएका छन् ।
साना र सर्टटर्म खेल्नेहरु भने हिजो बजारमा लागेको पोजिटिभ सर्किट बे्रकबाट भएको प्रफिट बुक गर्ने हतारोमा देखिन्छन् । यसले समेत कित्ता जम्मा गर्ने अभियानमा रहेका ठूला लगानीकर्ताहरुलाई सपोर्ट भइरहेको देखिएको छ ।
एक ब्रोकरका अनुसार मंगलबारको बजारमा जति सप्लाई दिए पनि क्षणभरमै पचाइदिने अनौठो प्रवृति देखिएको छ । तीव्र रुपमा बढेको सप्लाई धमाधम कन्ज्यूम हुनुले पनि ठूला लगानीकर्ताहरुको प्रवेश आक्रामक देखिएको उनीहरु बताउँछन् ।

