काठमाण्डौ । वर्षको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ३५८.१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘आज वर्षको अन्तिम कारोबार दिन भएकाले ब्रोकरले उधारो सेटलमेन्ट गर्दा बजारमा दबाब आएको हो । समग्रमा बजार बढ्नुमा भने अर्थमन्त्रालयले मागेको सुझाव गोप्य राख्नु नै मुख्य कारण हो । ’
वार्षिक रुपमा हेर्दा यो वर्ष वाणिज्य बैंक र विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेको उनले बताए । आगामी वर्ष पनि नीतिगत सुधार नभएसम्म बजारबाट खासै अपेक्षा गर्न नसकिने उनको धारणा रहेको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,‘सस्तोमा सेयर खरिद गर्नेका कारण आज बजार घटेको हो । बजारमा नयाँ विषय केहि पनि नभएकाले बजारमा नव प्रवेशी लगानीकर्ताको कमी देखियो । दैनिक रुपमा राजनीतिक अन्यौलता बढ्दा र ढुक्क भएर लगानी गर्ने वातावरण नबन्दा बजार घट्ने पुगेको हो ।’
प्राविधिक रुपमा पनि यो साता कमजोर क्याण्डल बनेको पौडेलले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमात्रै बढे भने अन्य ११ वटा समूहमा भने गिरावट आयो । आज उत्पादन तथा प्रशोधन समूह ०.१३ र व्यापार समूह १.४६ प्रतिशतले बढ्यो ।
आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज २.५० प्रतिशतले घट्यो । बैंकिङ समूह ०.०३ प्रतिशतले घटेको आज विकास बैंक १.२५,होटल १.६७,हाईड्रो ०.०४,लगानी ०.४०,जीवन बीमा १.२५,लघुवित्त १.१५,म्युचुअल फण्ड ०.७३,निर्जीवन बीमा १.०४ र अन्य समूह ०.४४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १२ करोड ५४ लाख बढीको सेयर कारोबार भएको छ ।
यस्तै गोखार्ज फाइनान्सको ११ करोड १२ लाख,नेपाल फाइनान्स ९ करोड ७७ लाख,पोखरा फाइनान्स ९ करोड ७६ लाख र नेपाल पुनर्बीमाको ८ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन मान्डु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.६९ प्रतिशतले बढ्यो । यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य ८.२६ प्रतिशत,गुराँस लघुवित्तको ७.७३ र पिपुल्स पावरको सेयरमूल्य ६.८३ प्रतिशतले बढ्यो ।
आज सिंगटी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य ९.९३,मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.६८ प्रतिशतले घट्यो ।