काठमाण्डौ । विद्युत बिक्रीमा आएको सुधार र वित्त खर्चमा आएको कमीका कारण मकर जितुमाया सुरी हाईड्रोको नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्ला्े आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५६.४२ प्रतिशतले बढी हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म भने ५ करोड ५६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३२ करोड ३९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३१ करोड ४२ लाखको तुलनामा ३.०९९ प्रतिशतले बढी हो ।
आम्दानी बिक्रीसँगै कम्पनीले खर्च व्यवस्थापनमा सफलता हासिल गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १३ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ११ करोड ५१ लाखमा सीमित बनेको छ ।
यस्तै कम्पनीको कर्मचारी सुविधा खर्च १ करोड ५७ लाखबाट घटेर १ करोड ३७ लाखमा सीमित बनेको छ । प्रशासनिक तथा अन्य सञ्चालन खर्च भने १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड २६ लाख पुगेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले रिटन्ड अर्निङको आकार ४ करोड १८ लाखबाट बढाएर ११ करोड ९९ लाख पुर्याएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.३३ रुपैयाँबाट बढेर ११.४६ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ ११५.७९ रुपैयाँ र आरओई ९.९४ प्रतिशत कायम भएको छ ।

