काठमाण्डौ। बुटवल पावर कम्पनी लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१ करोड २ लाख खुद नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.४५ प्रतिशतले बढेर ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ५५ करोड ८७ लाख रुपैयाँ थियो। यस्तै कम्पनीले १७ करोड ४५ लाख अन्य आम्दानी गरेको छ ।
कम्पनीको वित्त आम्दानी भने घटेको छ । अघिल्लो आव १ करोड ३९ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म ३८ लाख ८८ हजार मात्रै वित्त आम्दानी गरेको छ ।
खर्च संरचनातर्फ हेर्दा प्रशासनिक तथा साधारण खर्च ९ करोड ९३ लाखबाट बढेर १२ करोड १५ लाख रुपैयाँ पुगेको छ । वित्त खर्च पनि ६१ लाख ४० हजारबाट बढेर १ करोड २५ लाख पुगेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ र कुल चालु दायित्व १५ करोड ५९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक ८.७८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१०.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८१.४२ गुणा र तरलता अनुपात ६.८१ प्रतिशत कायम भएको छ ।

