काठमाण्डौ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ।
सिंहदरबारभित्रै फुटपाथदेखि सडकसम्म जथाभाबी सवारी पार्किङ हुने गरेको विषयमा समाचार र आलोचना सार्वजनिक भएपछि ट्राफिक प्रहरी सक्रिय बनेको हो। मंगलबार दिउँसो सिंहदरबार परिसरमा ट्राफिक नियमको बेवास्ता गर्दै अव्यवस्थित रूपमा राखिएका सवारीसाधनमा प्रहरीले ‘ह्विल लक’ लगाएको छ।
यसअघि सिंहदरबारभित्रै नियमविपरीत पार्किङ हुने गरेको तस्बिरसहितको समाचार सार्वजनिक भएको थियो। सार्वजनिक सडकमा केही मिनेट सवारी रोकेकै भरमा सर्वसाधारण कारबाहीमा पर्ने तर मुलुकको प्रमुख प्रशासनिक केन्द्रभित्रै नियम उल्लंघन हुँदा बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो।
समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले सिंहदरबार परिसरमा निगरानी बढाएको हो। नियमविपरीत राखिएका सवारीसाधनलाई हटाउने, चालकलाई सचेत गराउने र आवश्यक परे कारबाही गर्ने गरी कडाइ थालिएको प्रहरीले जनाएको छ।
सिंहदरबारमा मन्त्रालय, सरकारी कार्यालय, सुरक्षा निकाय र उच्च पदस्थ अधिकारीहरूको बाक्लो आवतजावत हुने भएकाले अव्यवस्थित पार्किङले पैदलयात्रु, कर्मचारी र सेवाग्राहीलाई समेत असहज बनाउँदै आएको थियो।
ट्राफिक प्रहरीको पछिल्लो कदमसँगै सिंहदरबारभित्र पार्किङ अनुशासन कायम हुने अपेक्षा गरिएको छ। तर, यो कडाइ एकदिनको अभियानमै सीमित नभई नियमित रूपमा कार्यान्वयन हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

