काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन विस्तार, निर्यात प्रवर्द्धन तथा व्यवसायीले भोगिरहेका समस्याका विषयमा कुराकानी हुने जनाइएको छ।
पछिल्ला केही दिनदेखि प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले विभिन्न उद्योगी तथा व्यवसायी सङ्घ–संस्थाका प्रतिनिधिसँग निरन्तर छलफल गर्दै आएका छन्। सोही क्रममा हस्तकला क्षेत्रका सम्भावना, रोजगारी सिर्जना, नेपाली मौलिक उत्पादनको ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा महासङ्घसँग छलफल गर्न लागिएको हो।
छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाख्वा तथा प्रमुख निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।

