बिहीबार, श्रावण ७,२०८३ 08:45:43
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:45:43
Bizshala
Global IME Bank Limited

सेयरबजारमा नयाँ ट्रेन्ड: किन बढ्दैछ ‘जेनजी स्टक’को लोकप्रियता ?

सेयरबजारमा नयाँ ट्रेन्ड: किन बढ्दैछ ‘जेनजी स्टक’को लोकप्रियता ?
New Office

काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र दोस्रो बजारमा ‘जेनजी स्टक’ भन्ने शब्द लगानीकर्तामाझ निकै चर्चित बन्न थालेको छ। यद्यपि ‘जेनजी स्टक’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वा अन्तर्राष्ट्रिय पूँजी बजारमा कुनै आधिकारिक वर्गीकरण होइन। यो बजारमा सक्रिय लगानीकर्ता तथा ट्रेडरहरूले अनौपचारिक रूपमा प्रयोग गर्ने शब्द हो।

सामान्यतया हालै सूचीकृत भएका वा बजारमा नयाँ आएका, भविष्यमा तीव्र वृद्धि हुने अपेक्षा गरिएका तथा लाभांशभन्दा पनि सेयर मूल्य बढेर हुने क्यापिटल गेन को सम्भावनाका आधारमा किनिने कम्पनीका सेयरलाई लगानीकर्ताले ‘जेनजी स्टक’को रूपमा चिन्ने गरेका छन्।

बजार विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा दोस्रो बजारमा नयाँ पुस्ताका लगानीकर्ताको सहभागिता बढेसँगै यस्ता कम्पनीप्रतिको आकर्षण पनि उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी सामाजिक सञ्जाल, अनलाइन लगानी समूह तथा बजारको समग्र मनोविज्ञानले यस्ता सेयरको मागमा प्रत्यक्ष प्रभाव पार्ने गरेको देखिन्छ।

बजारमा सुधारको संकेत देखिन थालेपछि नयाँ कम्पनीका सेयरमा कारोबार र चासो दुवै बढ्न थालेका छन्। बजार घटेका बेला न्यून मूल्यमा पुगेका यस्ता कम्पनीका सेयरमा अहिले पुनः खरिद चाप बढ्न थालेको ब्रोकरहरू बताउँछन्। यसले गर्दा क्यापिटल गेनको अपेक्षा गर्ने अल्पकालीन लगानीकर्ता तथा ट्रेडरहरू यस्ता कम्पनीतर्फ आकर्षित भएका छन्।

हाल बजारमा स्नो रिभर्स लिमिटेड, एपोलो हाइड्रो, शिखर पावर डेभलपमेन्ट, होटल फरेस्ट इन, सोपान फर्मास्युटिकल्स, सोलु हाइड्रो, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जी जस्ता नयाँ कम्पनीहरू ‘जेनजी स्टक’को रूपमा चर्चामा रहेका छन्। र आजको नेप्सेको फ्लोरसिटअनुसार यी कम्पनीहरुको सेयरभाउ उल्लेख्य बढेको छ । 

बजारमा सकारात्मक वातावरण बनेका दिनहरूमा यी कम्पनीहरूको सेयर मूल्य तुलनात्मक रूपमा तीव्र गतिमा बढ्ने प्रवृत्ति देखिएको छ।

यद्यपि विश्लेषकहरूले उच्च प्रतिफलको सम्भावनासँगै यस्ता कम्पनीमा उच्च जोखिम पनि रहने भएकाले केवल बजारको हल्ला वा सामाजिक सञ्जालको प्रभावमा लगानी नगर्न सुझाव दिएका छन्। कम्पनीको वित्तीय अवस्था, व्यवसायको सम्भावना, नाफा आर्जन क्षमता तथा मूल्यांकनको अध्ययन गरेर मात्रै लगानी निर्णय लिनुपर्ने उनीहरूको भनाइ छ।

बजारमा ‘जेनजी स्टक’प्रतिको बढ्दो आकर्षणले नयाँ कम्पनीप्रति लगानीकर्ताको विश्वास बढेको संकेत गरे पनि दीर्घकालीन रूपमा प्रतिफल कम्पनीको वास्तविक व्यवसायिक प्रदर्शन र वित्तीय अवस्थामै निर्भर रहने जानकारहरू बताउँछन्।

‘विशेषगरी जेनजी आन्दोलनपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका कम्पनीलाई लगानीकर्ताहरुले अनौपचारिक रुपमा जेनजी स्टकको नाम दिएका हुन्’ ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘लगानीकर्ताहरुले आफ्नै शैलीमा बुझ्ने हिसाबमा नयाँ कम्पनीलाई जेनजी स्टकको नाम दिएका छन् र पछिल्लो समय आएका कम्पनीहरु प्राय लो क्यापकै भएका छन्, जसकारण यस्तो स्टकमा लगानीकर्ताको आकर्षण देखिएको हो ।’

के हो जेनजी स्टक ? 

‘जेनजी स्टक’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वा अन्तर्राष्ट्रिय पूँजी बजारमा कुनै आधिकारिक वर्गीकरण होइन। यो बजारमा सक्रिय लगानीकर्ता तथा ट्रेडरहरूले अनौपचारिक रूपमा प्रयोग गर्ने शब्द हो।

नेपालको सन्दर्भमा केही सेयर लगानीकर्ता र सामाजिक सञ्जालहरुमा ‘जेनजी स्टक’ भनेर सामान्यतया नयाँ पुस्ताका लगानीकर्ताबीच धेरै चर्चामा रहेका कम्पनीलाई बुझिन्छ । 

यसका साथै बजारमा पछिल्लो समय आएका मूल्य तीव्र रुपमा बढ्ने वा घट्ने सम्भावना रहेका कम्पनी, भविष्यमा उच्च वृद्धि हुन सक्ने अपेक्षा गरिएका कम्पनी, लाभांशभन्दा पनि क्यापिटल गेन (मूल्य बढेर हुने नाफा)को आशामा किनिने सेयर र सामाजिक सञ्जालमा, अनलाईन समूह वा बजारको ‘ट्रेन्ड’ ले धेरै प्रभावित पार्न सक्ने कम्पनीको सेयरलाई लगानीकर्ताले ‘जेनजी स्टक’को नाम दिएका छन् । 

बिजशालाले नियमित प्रकाशन गर्दै आएको ‘ग्राउण्ड जिरो’ रिर्पोटमा समेत ब्रोकर हाउसका अधिकांश लगानीकर्ताले जेनजी स्टकको शब्द प्रयोग गरेको भेटिन्छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.