शनिबार, श्रावण ९,२०८३ 09:07:42
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:07:42
Bizshala
Global IME Bank Limited

रश्मी रिजाल मृत्यु प्रकरणमा नयाँ तथ्यः आफैं कार लिएर गएको सीसीटीभीमा देखियो, कारण अझै अनिश्चित

सेयर बजारमा नोक्सानीका कारण घटना भएको चर्चालाई सहकर्मीले गरे अस्वीकार, प्रहरीले सीसीटीभी फुटेजसहित विभिन्न कोणबाट अनुसन्धान गर्दै

रश्मी रिजाल मृत्यु प्रकरणमा नयाँ तथ्यः आफैं कार लिएर गएको सीसीटीभीमा देखियो, कारण अझै अनिश्चित
New Office

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेड रश्मी रिजाल विद्युतीय कारभित्र मृत भेटिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजसहित विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

नेपालटारमा बस्दै आएकी रिजाल बिहीबार साँझ करिब सवा ५ बजे कार्यालयबाट बाहिरिएकी थिइन्। शुक्रबार कार्यालय आउने अपेक्षा गरिए पनि उनी उपस्थित नभएपछि दिउँसोतिर सहकर्मीहरूले खोजी सुरु गरेका थिए।

बिना जानकारी बिदामा नबस्ने र नियमित रूपमा कार्यालय आउने रिजाल अचानक सम्पर्कविहीन भएपछि सानिमा क्यापिटलका कर्मचारी चिन्तित बनेका थिए। त्यही क्रममा परिवारबाट पनि उनी सम्पर्कमा नरहेको जानकारी आएपछि परिवारका सदस्य र सहकर्मीहरूले संयुक्त रूपमा खोजी थालेका थिए।

शुक्रबार दिनभर खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन। साँझसम्म सम्पर्क नभएपछि उनका पतिले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। त्यसको भोलिपल्ट शनिबार तारकेश्वर नगरपालिका क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारको पछिल्लो सिटमा उनी मृत फेला परेकी हुन्।

सीसीटीभी फुटेज अनुसन्धानको महत्त्वपूर्ण आधार

प्रहरीले घटनास्थल आसपासमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज नियन्त्रणमा लिएर अध्ययन गरिरहेको छ। अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार प्रारम्भिक रूपमा हेरिएको फुटेजमा रिजाल आफैंले कार चलाएर घटनास्थलसम्म पुर्‍याएको देखिन्छ।

कार रोकेपछि उनी चालक सिटबाट पछिल्लो सिटतर्फ गएको फुटेजमा देखिएको स्रोतको दाबी छ। उक्त समयमा घटनास्थलमा अर्को व्यक्तिको प्रत्यक्ष उपस्थिति वा संलग्नता देखिने स्पष्ट दृश्य हालसम्म फेला नपरेको बताइएको छ।

यद्यपि, प्रहरीले अनुसन्धान पूरा नभएसम्म फुटेजमा देखिएका दृश्यका आधारमा मात्रै घटनाको प्रकृति र कारणबारे निष्कर्ष निकाल्न नमिल्ने स्पष्ट पारेको छ। घटनास्थलको अवस्था, प्राविधिक प्रमाण, पोस्टमार्टम प्रतिवेदन, फोनको विवरण तथा अन्य सम्भावित प्रमाणको विश्लेषणपछि मात्रै वास्तविकता खुल्ने प्रहरीको भनाइ छ।

‘जोखिम मोलेर सेयर कारोबार गर्ने स्वभाव थिएन’

घटनापछि सामाजिक सञ्जाल तथा अनौपचारिक वृत्तमा सेयर बजारमा भएको सम्भावित नोक्सानीसँग घटनालाई जोडेर विभिन्न अनुमान गरिएका छन्। तर रिजाललाई नजिकबाट चिन्ने सहकर्मीहरूले त्यस्तो अनुमान तथ्यमा आधारित नभएको बताएका छन्।

उनीहरूका अनुसार रिजाल दोस्रो बजारमा ठूलो जोखिम लिएर व्यक्तिगत लगानी गर्ने स्वभावकी थिइनन्। उनको आर्थिक कारोबारबारे आधिकारिक अनुसन्धान वा प्रमाण सार्वजनिक नभएकाले सेयर बजारसँग घटनालाई जोड्नु हतारो हुने उनीहरूको भनाइ छ।

“उहाँ जोखिम मोलेर आफैं ठूलो लगानी गर्ने प्रकृतिको व्यक्ति होइन,” उनीसँग निकट रहेर काम गरेका एक सहकर्मीले भने, “त्यसैले सेयर बजारमा डुबेको भन्ने चर्चा हामीलाई विश्वसनीय लाग्दैन।”

सहकर्मी सम्झन्छन्-‘परिपक्व र जिम्मेवार व्यक्तित्व’

सहकर्मीहरूले रिजाललाई परिपक्व, जिम्मेवार र व्यावसायिक व्यक्तित्वका रूपमा सम्झिएका छन्। कार्यालयमा आयोजना हुने अधिकांश बैठकमा उनी सक्रिय रूपमा सहभागी हुन्थिन्। ग्राहकसँग नम्र भएर बोल्ने तथा विषयवस्तु बुझेर व्यवहार गर्ने उनको राम्रो छवि रहेको सहकर्मीहरू बताउँछन्।

अचानक कार्यालयमा अनुपस्थित भएपछि नै कर्मचारीहरू गम्भीर बनेका थिए। कुनै पूर्वजानकारीबिना बिदामा नबस्ने उनको स्वभावका कारण परिवारबाट सम्पर्कविहीन भएको खबर आउनासाथ खोजीलाई तीव्र बनाइएको थियो।

घटनाको कारणबारे अहिले विभिन्न अनुमान सार्वजनिक भइरहे पनि कुनै पनि आशंकाको आधिकारिक पुष्टि भएको छैन। प्रहरीले अनुसन्धान जारी रहेकाले अपुष्ट विवरण र अनुमानलाई तथ्यका रूपमा प्रचार नगर्न आग्रह गरेको छ। घटनाको वास्तविक कारण पोस्टमार्टम तथा अन्य वैज्ञानिक एवं प्राविधिक परीक्षणको नतिजापछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.