आईतवार, श्रावण १०,२०८३ 12:54:54
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 12:54:54
Bizshala
Global IME Bank Limited

चुरोट व्यापारबाट सूर्य नेपालको आम्दानी उकालो, एक वर्षमै सवा ३२ अर्बको कारोबार

चुरोट व्यापारबाट सूर्य नेपालको आम्दानी उकालो, एक वर्षमै सवा ३२ अर्बको कारोबार
New Office

 

काठमाण्डौ ।  नेपालका ठूला उत्पादनमूलक कम्पनीमध्ये एक सूर्य नेपाल प्रालिले एक वर्षमै ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।

कम्पनीको कारोबार अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ। सन् २०२४ मा सूर्य नेपालले करिब २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको थियो। कारोबार बढे पनि कम्पनीको सञ्चालन नाफा र खुद नाफा मार्जिन भने लगभग स्थिर रहेको छ।

सूर्य नेपालको वित्तीय अवस्था बलियो देखिएको छ। ऋणको न्यून स्तर र सञ्चालनबाट निरन्तर भइरहेको नगद प्रवाहका कारण कम्पनीका ऋण सुरक्षा सूचकहरू अनुकूल अवस्थामा रहेका छन्।

कम्पनीले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिएको छैन। सन् २०२५ सम्म कम्पनीको ऋण दायित्व लिजमा मात्र सीमित रहेको छ। कम्पनीको समग्र गियरिङ अनुपात ०.०१ गुणा रहेको छ, जुन अत्यन्त न्यून मानिन्छ।

सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, १ अर्ब २० लाख रुपैयाँ ट्रेजरी बिल र २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको छ। पर्याप्त नगद तथा तरल सम्पत्तिका कारण कम्पनीको अल्पकालीन वित्तीय दायित्व वहन गर्ने क्षमता बलियो देखिएको छ।

कम्पनीले आफ्ना सेयरधनीलाई नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ। उच्च नगद प्रवाह, न्यून ऋण र स्थिर नाफाका कारण कम्पनीको वित्तीय जोखिम सीमित रहेको मूल्यांकन गरिएको छ।

सन् १९८६ बाट व्यावसायिक यात्रा सुरु गरेको सूर्य नेपालमा भारतीय कम्पनी आईटीसी लिमिटेडको ६१ प्रतिशत स्वामित्व छ। बाँकी ३९ प्रतिशत सेयर नेपाली संस्था तथा व्यक्तिगत लगानीकर्ताको स्वामित्वमा छ।

सूर्य नेपालले मुख्य रूपमा चुरोट, अगरबत्ती र ब्रान्डेड प्याकेज्ड खाद्यवस्तु उत्पादन गर्दै आएको छ। उत्पादन र कारोबारको आकारका आधारमा कम्पनी नेपालका सबैभन्दा ठूला उत्पादनमूलक कम्पनीमध्ये एक हो।

कम्पनीले सूर्य नेपाल भेन्चर्स प्रालिमार्फत अगरबत्तीको उत्पादन तथा बिक्री गर्दै आएको छ। पछिल्लो समय कम्पनीले ‘मारानी’ ब्रान्डको उच्च गुणस्तरीय महको निर्यातसमेत सुरु गरेको छ।

चार दशकदेखि चुरोट उत्पादन गर्दै आएको कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ, शिखर आइस, रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पन्च, खुकुरी स्टार, बिजुली र चौतारीलगायत ब्रान्डका चुरोट उत्पादन गर्दै आएको छ।

सञ्जीव पुरी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ सुविधाको रेटिङ गराएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.