काठमाण्डौ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नम्बर ५०) ले आफ्ना ग्राहक तथा लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ कारोबार सुविधा सुरु गरेको छ।
कम्पनीले सोमबारदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको कार्यप्रक्रियाअनुसार मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
यो सुविधाअन्तर्गत योग्य लगानीकर्ताले तोकिएको प्रारम्भिक मार्जिन रकम जम्मा गरेर बाँकी रकम कम्पनीबाट मार्जिन ऋणका रूपमा उपयोग गरी मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीका सेयर खरिद गर्न सक्नेछन्।
कम्पनीले लगानीकर्ताका लागि ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋण उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार १० लाख रुपैयाँ बराबरको कारोबार सीमा लिन चाहने लगानीकर्ताले ३० प्रतिशत रकम आफैं व्यवस्था गर्दा ७ लाख रुपैयाँसम्म मार्जिन ऋण पाउन सक्नेछन्। त्यस्तै, २० लाख रुपैयाँको कारोबार सीमामा १४ लाख, ३० लाखमा २१ लाख, ४० लाखमा २८ लाख र ५० लाख रुपैयाँको कारोबार सीमामा ३५ लाख रुपैयाँसम्म मार्जिन ऋण उपलब्ध हुनेछ।
यसैगरी एक करोड रुपैयाँसम्मको कारोबारका लागि ७० लाख रुपैयाँ र दुई करोड रुपैयाँसम्मको कारोबारका लागि अधिकतम एक करोड ४० लाख रुपैयाँसम्म मार्जिन ऋण उपलब्ध गराउने कम्पनीको योजना छ।
कति लाग्छ शुल्क ?
कम्पनीले मार्जिन ऋणको अवधि तथा रकमअनुसार ब्याज र प्रशासनिक शुल्कसमेत निर्धारण गरेको छ।
१० लाख रुपैयाँ कारोबार सीमा अर्थात् ७ लाख रुपैयाँ मार्जिन ऋण लिने लगानीकर्ताले पहिलो ३० दिनका लागि ५ हजार ६०० रुपैयाँ ब्याज तथा प्रशासनिक शुल्क तिर्नुपर्नेछ। यही अनुपातमा २० लाख रुपैयाँको कारोबार सीमामा ११ हजार २०० रुपैयाँ, ५० लाखमा २८ हजार रुपैयाँ, एक करोडमा ५६ हजार रुपैयाँ र दुई करोड रुपैयाँको कारोबार सीमामा एक लाख १२ हजार रुपैयाँ शुल्क लाग्नेछ।
अवधि बढ्दै जाँदा शुल्क पनि सोहीअनुसार थपिने कम्पनीले जनाएको छ। ६०, ९०, १२०, १५० र १८० दिनसम्मका लागि छुट्टाछुट्टै शुल्क संरचना तय गरिएको छ।
मार्जिन ट्रेडिङ सेवाको सञ्चालन प्रचलित कानुन, नियामकीय व्यवस्था तथा कम्पनीको आन्तरिक जोखिम व्यवस्थापन नीतिअनुसार हुने कम्पनीले स्पष्ट पारेको छ।
यो सुविधा लिन चाहने लगानीकर्ताले आवश्यक कागजातसहित काठमाडौंको न्यूप्लाजास्थित कम्पनीको कार्यालयमा उपस्थित भएर आवेदन तथा सम्झौता गर्नुपर्नेछ।
कम्पनीका प्रबन्ध सञ्चालक हरिबहादुर खड्काले लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधाको उपयोग गर्न आग्रह गर्दै कम्पनी पारदर्शी, भरपर्दो, प्रविधिमैत्री तथा गुणस्तरीय पूँजीबजार सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।