काठमाण्डौ । माया खोला हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ५८ लाख घाटा व्यहोरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा र वित्त खर्च घट्दा कम्पनी नाफामा गएको हो । गत आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट २९ करोड ६९ लाख आर्जन गरेकोमा समीक्षा अवधिमा ३७ करोड ९४ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले ६२ लाख ९९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको वित्त खर्च २० करोड ९३ लाखबाट घटेर १७ करोड ६८ लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ प्रतिसेयर नेटवर्थ ६१.८१ रुपैयाँ, तरलत अनुपात ०.४९ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३११.०५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।