काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.६५ प्रतिशतले बढी हो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.९६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी २३ करोड ५९ लाख र सञ्चालन मुनाफा ७ करोड ४० लाख रुपैयाँ रहेको छ ।
संस्थाको रिटेन्ड अर्निङको आकार ३ करोड ८७ लाखबाट बढेर ७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषको आकार ५ करोड ९८ लाखबाट बढेर ७ करोड १९ लाख पुगेको छ ।
संस्था खराब कर्जा अनुपात उल्लेख्य बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.२० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १०.८३ प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ७२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ८६ लाखको व्यवस्था गरेको थियो ।
यो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ७ करोड ७६ लाख रुपैयाँ र लाभांश क्षमता ५०.६२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३३.७७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १९७.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ११८.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.८३ गुणा र तरलता अनुपात ११.०३ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।