काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण क्षतिग्रस्त ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्वा खोला साना जलविद्युत आयोजनाको मर्मत सम्भार तथा पुनःस्थापनापछि दुवै युनिटबाट विद्युत उत्पादन सुचारु भएको छ।
इङ्वा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ जिल्लाबाट भएर बग्ने इङ्वा खोलामा निर्माण गरी सञ्चालन गरिरहेको उक्त आयोजनामा गत जेठ ९ गते बिहान १२ बजेर १ मिनेटदेखि अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइनलगायतका विभिन्न संरचनामा ठूलो क्षति पुगेको थियो। क्षतिका कारण आयोजना पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचनाहरूको मर्मत सम्भार तथा पुनःस्थापनाको काम सम्पन्न गरेपछि आयोजनाको युनिट वान साउन २१ गतेदेखि सञ्चालनमा आई विद्युत उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।
यसैगरी, आयोजनाको युनिट टु समेत भदौ २३ गते साँझ ४ः२० बजेदेखि सञ्चालनमा आएको र विद्युत उत्पादन सुरु भएको कम्पनीले जानकारी दिएको छ। युनिट टु सञ्चालनमा आएसँगै आयोजनाका दुवै युनिटबाट विद्युत उत्पादन सुचारु भएको हो।
बाढी तथा पहिरोका कारण महत्वपूर्ण संरचनामा भएको क्षतिपछि गरिएको मर्मत सम्भार तथा पुनःस्थापनाबाट आयोजना पुनः पूर्ण क्षमतातर्फ अघि बढेको कम्पनीको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।