काठमाण्डौ । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक निमन्त्रणामा एक साताका लागि चीन प्रस्थान गरेका छन्।
आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।
नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले चिनियाँ पक्षसँग विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपाली सेनाले यो भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्ध थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाल र चीनबीच लामो समयदेखि रक्षा तथा सैनिक सहयोग, तालिम, अनुभव आदानप्रदान र उच्चस्तरीय भ्रमण हुँदै आएका छन्। प्रधान सेनापति सिग्देलको यो भ्रमणलाई पनि दुई देशबीचको सैन्य कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
चीन भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्तामा द्विपक्षीय सैनिक सहकार्य, तालिम, क्षमता विकास तथा आपसी सहयोगका विविध विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।
प्रधान सेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।