काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार सार्वजनिक गरेको ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ लाई अधिकांश लगानीकर्ताले उत्साहपूर्ण रूपमा स्वागत गरेका छन्।
पूँजीगत लाभकर कटौती, नाफा–घाटा समायोजन, मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, सर्ट सेलिङ, सेयर स्प्लिट, बाइब्याक, संस्थागत लगानीकर्ताको प्रवेश तथा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गर्नेलगायत घोषणापछि लगानीकर्ताले यसलाई पूँजीबजार सुधारको महत्वपूर्ण प्रस्थानविन्दु भनेका छन्।
कतिपयले कार्ययोजनालाई ‘ऐतिहासिक’ र ‘अपेक्षाभन्दा बढी सुविधा’का रूपमा अर्थ्याएका छन्। तर घोषणामा मात्रै उत्साहित नहुन र निर्धारित समयमै कार्यान्वयन भए मात्र यसको औचित्य पुष्टि हुने आवाज पनि सँगसँगै उठेको छ।
यसबीच एमाले महासचिव शंकर पोखरेलले भने पूँजीबजार सुधारलाई समग्र आर्थिक पुनर्संरचनासँग नजोडिए छुट्टै कार्ययोजनाको अर्थ नहुने भन्दै आलोचनात्मक टिप्पणी गरेका छन्।
अम्बिका पौडेलले भने– विकास र विस्तारको कोशेढुंगा
नेपालको पूँजीबजारका अनुभवी लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले कार्ययोजनालाई दीर्घकालीन पूँजीबजार विकास र विस्तारको कोशेढुंगा बन्ने बताएका छन्।
उनले भनेका छन्, ‘अर्थ मन्त्रालयबाट आज जारी पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ दीर्घकालीन पूँजीबजार विकास र विस्तारको कोशेढुंगा हुनेछ। धन्यवाद अर्थमन्त्रीज्यू।’
तिलक कोइरालाको कटाक्ष– उहिल्यै मानेको भए...
लगानीकर्ता तिलक कोइरालाले कार्ययोजनाको स्वागतसँगै विगतमा लगानीकर्ताले उठाएका माग समयमै नसुनिएकोतर्फ कटाक्ष गरेका छन्।
‘पढेर होइन, परेर जानिँदो रहेछ भन्ने प्रमाणित भयो। उहिल्यै मानेको भए...,’ उनले टिप्पणी गरेका छन्।
उनको प्रतिक्रियाले बजार सुधारका धेरै विषय लगानीकर्ताले लामो समयदेखि उठाउँदै आए पनि कार्यान्वयनमा ढिलाइ भएको संकेत गर्छ।
‘आउनुपर्ने सबै आयो, तर आफूसँग कित्ता छैन’
लगानीकर्ता दुर्गाप्रसाद काफ्लेले कार्ययोजनामा बजारका लागि आवश्यक अधिकांश विषय समेटिएको बताएका छन्। उनले रमाइलो शैलीमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘आउनुपर्ने सबै आयो। भइकरै आयो, तर आफूसँग पीडा छ–कित्ता छैन।’
लगानीकर्ता रोहन कार्कीले सरकारलाई धन्यवाद दिँदै पूँजीबजार र निजी क्षेत्रका लागि ‘ऐतिहासिक दिन आउँदै गरेको’ टिप्पणी गरेका छन्।
नवराज दाहालले भने– खोजेकोभन्दा बढी सुविधा आयो
लगानीकर्ता नवराज दाहालले सरकारले ल्याएको कार्ययोजना लगानीकर्ताको अपेक्षाभन्दा पनि फराकिलो रहेको बताएका छन्।
‘सेयर बजारका लागि गज्जब राम्रो कुरा आयो। लगानीकर्ताले खोजेको र चाहेकोभन्दा पनि बढी सुविधा आयो,’ उनले भनेका छन्, ‘अब कुनै गुनासो छैन, बाँकी परिणाम कुरौँ।’
‘समयमै काम भए मात्र कोशेढुंगा’
लगानीकर्ता नयन बास्तोलाले कार्ययोजनाको सकारात्मक प्रभाव त्यसको कार्यान्वयनमा निर्भर रहने बताएका छन्। घोषित काम तोकिएको समयमै सम्पन्न भए कार्ययोजना नेपालको पूँजीबजार विकासमा कोशेढुंगा साबित हुने उनको भनाइ छ।
कार्ययोजनामा विभिन्न सुधारका लागि असोजदेखि फागुन मसान्तसम्मका समयसीमा निर्धारण गरिएका छन्। यही कारण लगानीकर्ताको अबको प्रमुख चासो घोषणा गरिएका नीति, नियम, कानून र प्राविधिक पूर्वाधार समयमै तयार हुन्छन् वा हुँदैनन् भन्नेमा केन्द्रित देखिएको छ।
केशव कोइरालाले भने– अर्थतन्त्र चलायमान बनाउने पहिलो ढोका
लगानीकर्ता केशव कोइरालाले पूँजीबजार सुधारलाई अर्थतन्त्र चलायमान बनाउने पहिलो ढोकाका रूपमा अर्थ्याएका छन्।
उनले अर्थमन्त्री वाग्लेलाई धन्यवाद दिँदै पूँजीबजारका समस्यालाई व्यापक रूपमा सम्बोधन गरेर सरकारले लाखौँ लगानीकर्ताको अपेक्षाको सम्मान गरेको बताएका छन्।
शंकर पोखरेलको फरक मत
अधिकांश लगानीकर्ता उत्साहित भइरहेका बेला एमाले महासचिव शंकर पोखरेलले भने छुट्टै पूँजीबजार सुधार कार्ययोजनालाई पर्याप्त मानेका छैनन्।
‘लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पूँजीबजारमा सुधार असम्भव छ,’ उनले भनेका छन्, ‘पूँजीबजार सुधारको छुट्टै कार्ययोजनाको तबसम्म कुनै अर्थ हुँदैन, जबसम्म यसलाई समग्र अर्थतन्त्रको सुधारसँग जोडिँदैन।’
देशका अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा नभई समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। समग्र अर्थतन्त्र चलायमान नभएसम्म पूँजीबजार दिगो रूपमा उकालो लाग्न नसक्ने पोखरेलको तर्क छ।
लगानीकर्ताका प्रतिक्रियाले कार्ययोजनाप्रति बजारको प्रारम्भिक मनोविज्ञान निकै सकारात्मक बनेको देखाउँछ। तर यसपटक पनि घोषणा कार्यान्वयनमा ढिलाइ भए उत्साह छिट्टै निराशामा बदलिन सक्ने भएकाले अर्थ मन्त्रालय र नियामक निकायको वास्तविक परीक्षा अब सुरु भएको छ।
-समाचारमा प्रयोग गरिएको फोटोसहितको क्रियटिभ एआई निर्मित हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।