काठमाण्डौ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा जलसतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी किनारका करिडोर सडक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित पुलसम्म बाढीको पानी पुगेपछि त्यहाँबाट आवतजावत रोकिएको छ। जोखिम बढेपछि ट्राफिक प्रहरीले च्यासल पुलसहित संवेदनशील स्थानमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढेसँगै ट्राफिक प्रहरीले माइकिङ गर्दै नदी किनार तथा करिडोर सडकमा यात्रा नगर्न आग्रह गरिरहेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नदी तथा खोला आसपासका क्षेत्रमा निगरानी बढाइएको छ। जोखिमयुक्त तटीय सडकमा पार्किङ गरिएका सवारीसाधनसमेत तत्काल हटाउन भनिएको छ।
नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले विशेषगरी बागमती, विष्णुमती, मनोहरा, धोबीखोलालगायतका करिडोर क्षेत्रमा अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।
यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
उक्त प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गइरहेकाले आगामी दिनमा पूर्वी क्षेत्रको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा वर्षाको मात्रा बढ्न सक्ने मौसमविद्को अनुमान छ।
लगातारको वर्षासँगै नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।