काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूमध्ये केही शेयरधनीले आफ्नो संस्थापक शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएको जनाएको छ।
कम्पनीका अनुसार सञ्चालक समितिको मिति बैठकबाट निवेदनबमोजिम कुल १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।
नेपाल बीमा प्राधिकरणबाट जारी ‘संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०८०’ बमोजिम संस्थापक शेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै, विद्यमान संस्थापक शेयरधनीहरूबीच खरिद–बिक्री हुन नसकेको अवस्थामा मात्र उक्त शेयरहरू निर्देशिकाबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार कम्पनीका सम्पूर्ण संस्थापक शेयरधनीहरूको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले इच्छुक संस्थापक शेयरधनीहरूलाई उक्त संस्थापक शेयर खरिद गर्न सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेस गर्न अनुरोध गरेको छ।
तोकिएको समयावधिभित्र कसैको निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरू बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।