काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन्।
बुधबार अर्थ समितिमा भएको छलफलमा रेग्मीले सरकार र नेपाल धितोपत्र बोर्डले अघि सारेका सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न रणनीतिक साझेदार आवश्यक रहेको बताए। उनले ब्रोकर तथा मर्चेन्ट बैंकरलगायत पुँजी बजारका व्यवसायीको स्तरीकरण र मानकीकरण गर्नुपर्नेमा पनि जोड दिए।
रेग्मीले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना तथा निःशुल्क परामर्शका नाममा हुने भ्रमपूर्ण प्रचारलाई नियमन गर्नुपर्ने बताए। त्यस्तै, बुक बिल्डिङमार्फत आईपीओ निष्कासन प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने उनको भनाइ छ।
उनले व्यक्तिगत र संस्थागत लगानीकर्ताबीचको करसम्बन्धी असमानताले संस्थागत लगानीलाई निरुत्साहित गरेको भन्दै करको भार घटाउनुपर्ने बताए। संस्थागत लगानीकर्ताको सहभागिता कमजोर हुँदा बजारमा व्यक्तिगत लगानीकर्ताको निर्भरता बढ्ने र अस्थिरता कायम रहन सक्ने उनको भनाइ छ।
रेग्मीले नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना गर्दा कारोबारका लागि उपलब्ध फ्लोट सेयरलाई आधार बनाउनुपर्ने सुझावसमेत दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।