काठमाण्डौ । एभरेष्ट पेपर मिल्स प्रा.लि.का १७४ जना श्रमिकले लामो कानुनी तथा प्रशासनिक संघर्षपछि सेवा सुविधा र पारिश्रमिकबापत कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।
उद्योग प्रशासनसँग विवाद बढेपछि श्रमिकहरूले बक्यौता सेवा सुविधा र पारिश्रमिक माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए। श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिपछि अन्ततः रकम भुक्तानी भएको हो।
श्रम अदालतले २०८२ चैत १७ गते ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा भुक्तानीका लागि बैंक खाता फुकुवा गर्न आदेश दिएको थियो। तर रकम नदिइएपछि श्रमिकहरूले अदालतको अवहेलना भएको भन्दै पुनः निवेदन दिएका थिए।
त्यसपछि २०८३ भदौ २६ गते सेयरधनीहरूको बैंक खाता, सम्पत्ति र सेयरसमेत रोक्का गरिएको थियो।
अन्ततः असोज ३० गते अदालतले तोकेको रकमसँगै भदौ र असोज महिनाको तलबसमेत जोडेर कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा विभिन्न चेकमार्फत १७४ श्रमिकलाई हस्तान्तरण गरिएको हो।
यससँगै लामो समयदेखि रोकिएको अदालतको निर्णय र सहमति कार्यान्वयनमा आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।