काठमाडौ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ।
अघिल्लो आर्थिक वर्ष उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत थियो। गत असारको मूल्यवृद्धि नेपाल र भारतमा लगभग उस्तै रहेको पनि राष्ट्र बैंकले जनाएको छ।
गत असारमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ भने सन् २०२४ को जुलाईमा भारतको यस्तो मुद्रास्फीति पनि ३.५४ प्रतिशत रहेको छ।
गत वर्ष वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ५.०९ प्रतिशतले वृद्धि भएको पनि राष्ट्र बैंकले जनाएको छ।
उक्त सूचकाङ्क अघिल्लो वर्षको तुलनामा घटेको हो। त्यस बेला यस्तो सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको थियो।