काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस वा भत्ता बाँड्न साढे ५ अर्ब रुपैयाँ छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ लघुबीमा कम्पनीले कुल ५ अर्ब ६० करोड रुपैयाँ छुट्याएका हुन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।९६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुले कर्मचारीको सेवा सुविधाका लागि ५ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ छुट्याएका थिए ।
बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई सुविधा प्रदान गर्न वित्तीय विवरणमा ‘कर्मचारी लाभ खर्च’ शीर्षकमार्फत रकम छुट्याएका हुन्छन् ।
कर्मचारी लाभ शीर्षकले कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम भन्ने बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र नगद पनि हुन सक्छ ।
जसमा न्यूनतम पारिश्रमिक, बोनस तथा भत्ता प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमा लगायत लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा बापत समेत यस्तो शीर्षकमा रकम छुट्याएका हुन्छन् ।
कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् ।
सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले मात्रै ३ अर्ब १२ करोड ११ लाख रुपैयाँ छुट्याएका छन् । यो रकम पनि गत आवको तुलनामा सामान्य मात्रै बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस तथा भत्ता बाँड्न २ अर्ब ९० करोड रुपैयाा छुट्याएका थिए ।
सो अवधिसम्म नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र सुर्यज्योति लाइफको यस्तो रकम गत आवको तुलनामा घटेको छ भने सबै कम्पनीले बढाएका छन् । गत आवको तुलनामा सबैभन्दा बढी कर्मचारी सेवा सुविधाको लागि रकम बढाउनेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३९।६४ प्रतिशतले यस्तो रकम बढाएको छ ।
साथै निर्जीवन बीमा कम्पनीरुको कर्मचारीलाई बाँड्ने बोनस तथा भत्ता रकम भने समग्रमा घटेको छ । निर्जीवन बीमकहरुको नाफा प्रभावित देखिदा कर्मचारीले पाउने बोनस र भत्तामा पनि प्रभावित देखिएको हो ।
सो अवधिसम्म नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सको यस्तो रकम घटेको छ भने बाँकी अन्य कम्पनीको यस्तो रकम बृद्धि देखिएको छ ।
यता लघुबीमा कम्पनीहरुले भने कर्मचारीलाई मख्ख बनाउने गरी रकम छुट्याएका छन् । सो अवधिसम्म लघुबीमकहरुले १५करोड ६३ लाख रुपैयाँ कर्मचारीलाई बोनस वा भत्ता बाँड्न रकम छुट्याएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४९।१५ प्रतिशत बढी हो । सो अवधिसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्स बाहेक सबै कम्पनीले यस्तो रकम बढाएका छन् ।
