काठमाण्डौ । लघुबीमा कम्पनीहरुको व्यवसाय एग्रेसिभ हुँदै जाँदा ठूला बीमकहरुलाई धक्का पुगेको छ । लघुबीमकहरुले लघुबीमा व्यवसाय उल्लेख्य बढाउँदै जाँदा यता ठूला बीमकहरुको लघुबीमा व्यवसाय भने ह्वात्तै घट्न पुगेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा ठूला बीमकहरुले लघुबीमा व्यवसायमार्फत १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १४.५८ प्रतिशत कम हो ।
गत आवको १० महिनासम्म बीमकहरुले लघुबीमा व्यवसायमार्फत २ अर्ब १८ करोड ३ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका थिए । सो अवधिसम्म जीवन बीमकहरुको मात्रै लघुबीमा व्यवसाय १४.६० प्रतिशतले घटेको छ भने निर्जीवन बीमकहरुको यस्तो व्यवसाय १२.६० प्रतिशतले घटेको छ ।
हाल १२ जीवन बीमकले लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् । निर्जीवनतर्फ ११ बीमकले लघुबीमा व्यवसाय गर्दै आइरहेकोमा चालु आवमा भने ६ बीमकले मात्रै लघुबीमा व्यवसाय गरेका देखिएको छ ।
लघुबीमा व्यवसाय गर्दै आइरहेका अधिकांश बीमकहरुको यस्तो व्यवसाय ह्वात्तै घटेको देखिएको छ । यता लघुबीमा कम्पनीहरुले भने आफ्नो व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढाइरहेका छन् ।
नेपाल बीमा प्राधिकरणले लघुबीमाको लाइसेन्स वितरण गरेपछि ठूला बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय खोसिएको छ । ठूला बीमकले व्यवसायमा तोकेको सीमा नपुर्याएपछि प्राधिकरणले लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । लघुबीमाको लाइसेन्स बाँडेपछि ठूला बीमा कम्पनीहरुले पनि उल्लेख्य रुपमा लघुबीमालेखहरु जारी गरेका थिए ।
लघुबीमा व्यवसायबाट आर्जन हुने प्रिमियम खोसिने डरले ठूला कम्पनीहरुले धमाधम लघुबीमालेख जारी गरेपनि समग्रमा लघुबीमा व्यवसाय घट्न पुगेको छ । प्राधिकरणले गरिब, न्यून आय भएका जनतालाई गरी लघुबीमा सेवा प्रदान गर्न लघुबीमाको लाइसेन्स वितरण गरेको थियो ।
प्राधिकरणले लघुबीमाको लाइसेन्स वितरण गरेपश्चात् ठूला बीमा कम्पनीहरुले बिक्री गर्दै आइरहेको लघुबीमा व्यवसायको हिस्सा खोसिएको छ । हाल लघुजीवन बीमा तर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रोलाइफ र लिबर्टीमा माइक्रो लाइफ छन् भने लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स गरी कुल ७ लघुबीमा कम्पनी सञ्चालनमा छन् ।
ग्रामिण स्तरमा ठूला बीमकको पहुँच कम
लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला बीमकहरुले ग्रामिण स्तरसम्म आफ्नो पहुँच पुर्याउन सकिरहेका छैनन् । शहरी क्षेत्रलाई मात्रै विशेष टार्गेट गर्दा ग्रामिण स्तरका बीमितहरुमा बीमाको पहुँच पुग्न सकिरहेका छैन ।
अहिले लघुबीमा कम्पनीहरुले पनि ठूला बीमकको सिको गरिरहेका छन् । ग्रामिण क्षेत्रलाई भन्दा बढी बजार क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर लघुबीमकहरुले शाखा सञ्जाल विस्तार गरिरहेका छन् । प्राधिकरणले गरिब र न्यून आय भएका वर्गलाई समेत बीमामा समेट्ने गरी लघुबीमाको लाइसेन्स वितरण गरेपनि लघुबीमा कम्पनीहरु बढी शहरी बजारतर्फ नै केन्द्रीत भएको देखिन्छ ।
ठूला बीमा कम्पनीहरु त झन् पछिल्लो समय ग्रामिण क्षेत्रमा बीमा व्यवसाय गर्न छाडिसकेका छन् । प्राधिकरणको पछिल्लो तथ्याङ्कले पनि छर्लङ्गै देखाएको छ । यसैकारण सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा समेत बीमा कम्पनीहरुलाई ग्रामिण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणमा प्राकृतिक प्रकोप, विपत् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बीमाको दायरा विस्तार गर्न ग्रामिण स्तरसम्म पहुँच पुर्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए ।
लघुबीमकले ४९९.४३ प्रतिशतले बढाए व्यवसाय
लघुबीमा कम्पनीहरुले चालु आवको १० महिनासम्म एक अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा ४९१.४३ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्म लघुबीमकहरुले २९ करोड ५८ लाख रुपैयाा मात्रै प्रिमिमय संकलन गरेका थिए । यस अवधिसम्म आइपुग्दा लघुबीमा कम्पनीहरुले आफ्नो शाखा सञ्जाल, कर्मचारी संख्या र पूँजी बृद्धि गरि व्यवसायमा समेत उल्लेख्य बृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले तोकेको क्षेत्रमा लघुबीमकहरु पुगेर शाखा विस्तार गरी बीमा सेवा दिइरहेका छन् ।

