काठमाण्डौ । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई)का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
बिहीबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पदाधिकारीसँगको भेटमा उनले उक्त धारणा राखेका हुन् ।
महासंघका अध्यक्ष ढकालको निमन्त्रणामा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताए ।
साथै उनले सरकार र ट्रेड यूनियनहरुको रचनात्मक भूमिका रहेको पनि बताए ।
महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५)सम्म कुल ३ दिन नेपालमा रहनेछन् ।
यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
महासंघमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको २०२६ मा हुने अति कम विकसित मुलुकबाट स्तरोन्नति र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजिकरणका विषयमा चर्चा गरेका थिए ।
साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मत्मक क्षमता अभिवृद्धि लगायतका आइओइका सहयोग आवश्यक रहेको बताए । “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नति हुँदा हामीसँग अवसर र चुनौती दुवै छन् । यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौं । ”अध्यक्ष ढकालले सो क्रममा भनेका थिए ।
नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठनबीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले सधैं उल्लेखनीय काम गर्दै आएको समेत सो क्रममा ढकालले बताएका थिए ।
सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका उपाध्यक्ष तथा रोजगादाता परिषदका सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासंघका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बीच असल सम्बन्ध निर्माण तथा औद्योगिक वातावरणका बिषयमा आ आफ्नो धारणा राखेका थिए ।