काठमाण्डौ । मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या १ हजार ७ सय ५९ पुगेको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको संख्या ४ वटाले कमी आएको हो ।
गत आर्थिक वर्ष मधेश प्रदेशको शाखा १ हजार ७ सय ६३ थियो । सञ्चालनमा रहेका शाखाहरुमध्ये वाणिज्य बैंकको ५८७, विकास बैंकको ८६, वित्त कम्पनीको ५३ र लघुवित्तको १ हजार ३३ शाखाहरु रहेका छन् ।
जिल्लागत आधारमा शाखाहरुको उपस्थिति सबैभन्दा बढी धनुषा, बारा र सर्लाही जिल्लामा रहेको छ । सबैभन्दा कम रौतहट जिल्लामा रहेको छ । समिक्षा अवधिमा यस प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको एटिएम संख्या ५११ रहेको छ ।
गत आर्थिक वर्ष सोही अवधिमा एटिएम संख्या ५१० रहेको थियो । सबैभन्दा बढी एटिएम संख्या धनुषा जिल्लामा ८३ वटा र सबैभन्दा कम एटिएम संख्या रौतहट जिल्लामा ४४ वटा रहेका छन् ।

