काठमाण्डौ । पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ।
अन्नपूर्ण गाउँपालिका निर्मल पुर्जाको जन्मथलो हो। उनी अन्नपूर्ण गाउँपालिका–२ दानाका स्थायी बासिन्दा थिए।
गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार गाउँपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपाली समुदाय स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।
सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वस्तरमा चिनाउन, नेपाली आरोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ।
गाउँपालिकाले पुर्जाको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको जनाएको छ। यसैबीच, गाउँपालिकाले शोकसन्तप्त परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ।

