काठमाण्डौ । पाकिस्तानको अल्पाइन क्लबले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को शव ब्रड पिक हिमालमा करिब ५ हजार ७०० मिटर उचाइमा फेला परेको पुष्टि गरेको छ। हिमपहिरोमा बेपत्ता भएको तीन दिनपछि उद्धार टोलीले उनको शव भेट्टाएको हो।
एसीपीले आइतबार जारी गरेको विज्ञप्तिमा उद्धार टोली निर्मल पुर्जासम्म पुगेको र सोही क्षेत्रमा थप तीन शव देखिएको उल्लेख गरेको छ। ती शवहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको जनाइएको छ। उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको क्लबले जनाएको छ।
क्लबका अनुसार उद्धार कार्य अत्यन्त कठिन भौगोलिक अवस्था, हिमपहिरोको उच्च जोखिम र प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको छ। मौसम अनुकूल नभएकाले हेलिकोप्टर परिचालन गर्न नसकिएको र स्थलमार्गबाट उद्धार अभियान सञ्चालन गरिएको बताइएको छ।
यसअघि शनिबार निर्मल पुर्जाको अभियान व्यवस्थापन गरिरहेको कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको जानकारी दिएको थियो।
एसीपीका अनुसार आठ सदस्यीय संयुक्त उद्धार टोली, जसमा नेपाल र पाकिस्तानका पर्वतारोही सहभागी छन्, आइतबार बिहान क्याम्प–१ पुगेपछि खोज तथा उद्धार अभियान अघि बढाएको हो।
निर्मल पुर्जाको टोलीमा उनीसहित १० जना सहभागी थिए। टोलीमा ६ नेपाली तथा पाकिस्तान, ओमान, अमेरिका र चीनका एक–एक पर्वतारोही थिए।
शनिबार उद्धार गरिएका तीन शवको पहिचान ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी तथा नेपाली पर्वतारोही पूरबहादुर गुरुङ र ग्यालु शेर्पाको रूपमा भएको छ। साथै, अमेरिकी पर्वतारोही सारा म्यालोरी गाइसको हुन सक्ने मानव अवशेष पनि फेला परेको एसीपीले जनाएको छ।
यसअघि हवाई निगरानीका क्रममा निर्मल पुर्जा र पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित थप पाँच शव देखिएको जानकारी सार्वजनिक गरिएको थियो। उद्धार अभियान अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

