सोमबार, श्रावण १८,२०८३ 05:17:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:17:16
Bizshala
Global IME Bank Limited

राष्ट्र निर्माणमा इन्जिनियरको भूमिका निर्णायक हुन्छः ऊर्जामन्त्री श्रेष्ठ

राष्ट्र निर्माणमा इन्जिनियरको भूमिका निर्णायक हुन्छः ऊर्जामन्त्री श्रेष्ठ
New Office

 

काडमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेशलाई केवल जागिरको सुरुआतका रूपमा नलिन आग्रह गरे।

सरकारी सेवामा प्रवेश राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्दै उनले अब नवप्रवेशी इन्जिनियरहरू प्राविधिक जनशक्तिसँगै राष्ट्रसेवकको भूमिकामा आएको बताए।

इन्जिनियरले गर्ने प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कामले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र निरन्तर परिश्रमसँग जोडिएको बताए।

सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरको निर्माण इन्जिनियरहरूको दूरदृष्टि र क्षमताको परिणाम भएको उनको भनाइ थियो।

उनले इन्जिनियरिङलाई गणित र विज्ञानको प्रयोगमा मात्र सीमित नगरी समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए। सफल इन्जिनियरले संरचना मात्र नभई अवसर, विश्वास र भविष्यसमेत निर्माण गर्ने उनको भनाइ छ।

नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको मन्त्री श्रेष्ठले बताए।

यी लक्ष्य नीति र बजेटबाट मात्रै पूरा नहुने उल्लेख गर्दै उनले दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदान आवश्यक रहेको स्पष्ट पारे।

राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व हुने बताउँदै मन्त्री श्रेष्ठले सरकारी सेवामा कतिपय अवस्थामा प्राविधिक दक्षताभन्दा नैतिक साहस अझ महत्त्वपूर्ण हुने बताए।

“सहज र सहीमध्ये एउटा रोज्नुपर्ने अवस्था आए सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हो,” उनले भने।

इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र नभई समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै उनले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न आग्रह गरे।

जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिक आचरण कायम गर्नुपर्ने उनको भनाइ थियो।

विश्वभर प्रविधिको तीव्र विकाससँगै इन्जिनियरिङको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको प्रयोगबिना भविष्यका चुनौती सामना गर्न नसकिने बताए।

नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने भन्दै उनले स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनबाट भौगोलिक चुनौतीलाई विकासको अवसरमा बदल्न सकिने बताए।

कम लागतमा गुणस्तरीय पूर्वाधार निर्माण, जलवायु अनुकूल डिजाइन, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि र दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा उनले जोड दिए।

पूर्वाधार निर्माणमा गुणस्तरसँग कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षण र परीक्षणसम्मका प्रत्येक चरणमा प्राविधिक मापदण्ड पालना गर्न निर्देशन दिए।

सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले व्यावसायिक नैतिकता र गुणस्तर नियन्त्रणमा कडाइ गर्नुपर्ने उनको भनाइ थियो।

देशले नयाँ पुस्ताका इन्जिनियरबाट प्राविधिक दक्षतासँगै नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उनले बताए।

मन्त्री श्रेष्ठले समृद्ध नेपाल संसद् वा मन्त्रालयको प्रयासबाट मात्रै निर्माण नहुने भन्दै हजारौँ इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको संयुक्त योगदान आवश्यक रहेको उल्लेख गरे।

उनले नवप्रवेशी इन्जिनियरहरूलाई राष्ट्रहितलाई सर्वोपरि राखेर इमानदारी, समर्पण र उत्कृष्ट कार्यसम्पादनका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै तालिम सफलताको शुभकामना दिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.