काठमाण्डौ । नेपालले विद्युत् निर्यातबाट एक वर्षमै करिब साढे २९ अर्ब रुपैयाँ आम्दानी गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशमा विद्युत् बिक्री गरी नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालको ऊर्जा प्रणालीको वर्तमान अवस्था, विद्युत् आपूर्तिको गुणस्तर तथा सेवा प्रवाहमा देखिएका समस्याबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यातबाट प्राप्त आम्दानीको विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार नेपालको विद्युत् उत्पादन बढ्दै जाँदा आन्तरिक खपतसँगै अन्तरदेशीय व्यापारसमेत विस्तार भइरहेको छ। भारतमा हुँदै आएको विद्युत् निर्यातसँगै बंगलादेशको बजार खुलेपछि नेपालको विद्युत् व्यापारको दायरा थप फराकिलो बनेको छ।
शहरमा स्मार्ट मिटर र अटोमेटेड सबस्टेसन
मन्त्री श्रेष्ठले स्वदेशी उपभोक्तालाई गुणस्तरीय र निरन्तर विद्युत् उपलब्ध गराउन वितरण प्रणाली सुधार तथा आधुनिकीकरणका काम तीव्र पारिएको जानकारी दिए।
काठमाडौं उपत्यकासहित प्रमुख शहरमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार भइरहेको उनले बताए। शहरी क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापनका लागि नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र पुराना संरचनाको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ।
औद्योगिक क्षेत्रमा देखिने भोल्टेज उतारचढाव तथा विद्युत् आपूर्तिको अनिश्चितता घटाउन डेडिकेटेड फिडरसहित आवश्यक पूर्वाधार निर्माण र सुधारको कामसमेत अघि बढाइएको मन्त्री श्रेष्ठको भनाइ छ।
उनले विद्युत् वितरण प्रणालीलाई थप मजबुत, भरपर्दो र गुणस्तरीय बनाउने काम निरन्तर अघि बढाइने बताए।
योजनाबद्ध मर्मतमा पूर्वसूचना, आकस्मिक अवरोधको सूचना प्रणाली पनि सुधारिँदै
नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचनाको मर्मत तथा जीर्णोद्धारका काम कार्यतालिका बनाएर योजनाबद्ध रूपमा गर्दै आएको मन्त्री श्रेष्ठले बताए।
योजनाबद्ध मर्मतका क्रममा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भए सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा प्राधिकरणका आधिकारिक माध्यमबाट उपभोक्तालाई पूर्वसूचना दिने व्यवस्था गरिएको उनले जानकारी दिए।
आकस्मिक रूपमा विद्युत् अवरुद्ध हुँदा समेत उपभोक्तालाई तत्काल जानकारी उपलब्ध गराउने प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ छ।
११५१ हटलाइनबाट ३१ हजार ४९६ गुनासो सम्बोधन
ऊर्जा मन्त्रालयले विद्युत् सेवा तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्न २४सै घण्टा सञ्चालन हुने ११५१ हटलाइन सञ्चालन गरिरहेको छ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन तथा ‘नो लाइट’ सेवामार्फत पनि उपभोक्ताका गुनासो सुनुवाइ र समाधान हुँदै आएको छ।
मन्त्री श्रेष्ठका अनुसार नयाँ सरकार गठन भएयता मन्त्रालयको ११५१ हटलाइनमार्फत ३१ हजार ४९६ वटा गुनासो सम्बोधन गरिएको छ।
मन्त्रालयले प्राप्त गुनासोलाई सम्बन्धित कार्यालय तथा जिम्मेवार अधिकारीसम्म पुर्याई आवश्यक समन्वय र सहजीकरण गर्दै आएको मन्त्री श्रेष्ठले संसद्लाई जानकारी दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।