काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज २८ गते काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा बैंकका सेयरधनीहरुका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्षको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गर्ने प्रस्ताव रहेको छ। साथै बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत सभाबाट पारित गरिनेछ।
सभाले चालु आवका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गर्नेछ। त्यस्तै, बैंकको चुक्ता तथा अधिकृत पुँजीसँग सम्बन्धित विषयमा आवश्यक निर्णय गर्ने प्रस्ताव पनि सभामा पेश हुने जनाइएको छ।
विशेष प्रस्तावतर्फ नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनअनुसार बैंकको जारी तथा चुक्ता पुँजीसम्बन्धी व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्ता पुँजीको आधारमा बोनस सेयर जारी गर्ने तथा त्यसअनुसार बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभामा पेश गरिनेछ।
बोनस सेयर जारी भएपछि बैंकको पुँजी संरचनामा हुने परिवर्तनअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, थपघट वा परिमार्जन गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने सूचनामा उल्लेख छ।
सिद्धार्थ बैंकको सहायक कम्पनीका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको तथ्य बैंकको आधिकारिक साधारण सभा सूचनामा पनि उल्लेख छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।