काठमाण्डौ । सरकारले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त रकम बराबरको बजेट सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले विभिन्न मन्त्रालय तथा सरकारी निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको उल्लेख गर्दै अब पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि तीनै तहका सरकारबीचको सहकार्यमा अघि बढाइने बताएका छन्।
सरकारका अनुसार गत भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट क्षतिग्रस्त भौतिक संरचना, सडक, पुल तथा अन्य पूर्वाधारको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनर्स्थापनालाई प्राथमिकतामा राखेर योजना अघि बढाइनेछ।
परिषद्को निर्णयसँगै अब प्रस्तावित योजनाका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रक्रिया अर्थ मन्त्रालयमार्फत अघि बढ्ने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।