काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनलाई व्यक्ति केन्द्रित नभई प्रणाली केन्द्रित बनाउनुपर्ने बताएका छन्।
मंगलबार ‘विपद् उत्थानशीलताको सुरुआत घरबाटै’ अभियानको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनसम्बन्धी नीति वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित हुनुपर्ने बताए।
उनका अनुसार विपद् आइपर्दा कुनै एक व्यक्ति वा पदाधिकारीको सक्रियतामा निर्भर रहने अवस्था अन्त्य गरी आवश्यक संयन्त्र स्वतः सक्रिय हुने प्रणाली विकास गर्नुपर्छ।
उनले बदलिँदो प्रकृतिका विपद् जोखिमलाई ध्यानमा राखेर पूर्वतयारीलाई निरन्तर सुदृढ गर्नुपर्ने बताए। हाल प्रचलित भिजुअल अनुगमन मात्रै पर्याप्त नहुने उल्लेख गर्दै कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट जोखिम पहिचान र पूर्वानुमानलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
नेपाल भूकम्प, मनसुनी बाढी, हिमताल विस्फोट तथा पहिरोका कारण नदी थुनिने जस्ता विभिन्न प्रकृतिका विपद्को जोखिममा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सोहीअनुसार उद्धार तथा राहत सामग्री, पूर्वसूचना प्रणाली र अनुगमन संयन्त्र तयार गर्नुपर्नेमा जोड दिए।
विशेषगरी माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा बहावमा परिवर्तन हुने अवस्थाले तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याउन सक्ने भएकाले पूर्वानुमान र निगरानीलाई थप बलियो बनाउनुपर्ने उनले बताए।
‘हाम्रो नीति वैज्ञानिक तथ्य, तथ्याङ्क र प्रमाणबाट निर्देशित हुनुपर्छ,’ उनले भने, ‘व्यक्ति केन्द्रित व्यवस्थाभन्दा प्रणाली केन्द्रित संयन्त्र बलियो हुनुपर्छ।’
मन्त्री श्रेष्ठले विपद्पछिको राहत र उद्धारमा मात्र केन्द्रित नभई पूर्वतयारी, उपकरण व्यवस्थापन, निरन्तर अनुगमन तथा मानसिक स्वास्थ्यलाई समेत समग्र विपद् व्यवस्थापनको हिस्सा बनाउनुपर्ने बताए।
विपद्पछि बालबालिकामा देखिने डर, त्रास तथा प्रभावित व्यक्तिमा देखिन सक्ने पोस्ट ट्रमासम्बन्धी समस्यालाई समेत सम्बोधन गर्ने गरी कार्यढाँचा बनाउनुपर्ने उनको भनाइ छ।
उनले आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा आधुनिक वैज्ञानिक तथ्यसँगै परम्परागत तथा रैथाने ज्ञानलाई पनि समेट्नुपर्ने आवश्यकता औंल्याए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।