काठमाण्डौ । इजरायलले आगामी मंगलबार अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल नाका बन्द गर्ने घोषणा गरेको छ। हेब्रोननजिकको जाँच चौकीमा दुई सैनिक मारिएको घटनापछि सैन्य कारबाही तीव्र बनाएको इजरायलले आवागमनमा थप प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
इजरायली सेनाका अनुसार आइतबारदेखि नै प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा कामका लागि प्रवेश गर्न रोक लगाइनेछ। निर्वाचनका दिन भने वेस्ट बैंकसँगका सबै स्थल नाका बन्द रहनेछन्।
आक्रमणपछि व्यापक खोजतलास र पक्राउ
शुक्रबार हेब्रोननजिकको जाँच चौकीमा प्यालेस्टिनी बन्दुकधारीले गरेको आक्रमणमा दुई इजरायली सैनिक मारिएका थिए भने अन्य तीन जना घाइते भएका थिए। हमासले उक्त आक्रमणको प्रशंसा गरे पनि जिम्मेवारी स्वीकार गरेको छैन।
इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० क्षेत्रमा कारबाही गरेको जनाएको छ। सो क्रममा करिब ४० शंकास्पद व्यक्ति पक्राउ गरिएको र उनीहरूमध्ये केही हमास तथा इस्लामिक जिहादसँग आबद्ध रहेको सेनाको दाबी छ।
विस्थापितलाई फर्कन नदिने रक्षामन्त्रीको भनाइ
हेब्रोनमा सैन्य कारबाहीपछि करिब दुई हजार प्यालेस्टिनी आफ्नो घरबाट विस्थापित भएको इजरायलका रक्षामन्त्री इजरायल काट्जले बताएका छन्। उनले हेब्रोनमा हमासविरुद्धको कारबाही पूरा नभएसम्म उनीहरूलाई घर फर्कन नदिइने बताएका छन्।
सैनिकहरूले सहरका प्रवेशद्वार र जाँच चौकी बन्द गर्दै आवागमन नियन्त्रण गरेका छन्। देइर बहा र आसपासका क्षेत्रमा राति लाउडस्पीकरमार्फत घर खाली गर्न निर्देशन दिएपछि स्थानीय बासिन्दा आफन्त तथा अन्य सुरक्षित स्थानमा पुगेका छन्। कतिपय घर र व्यवसायमा तोडफोड तथा भत्काउने काम भएको विवरण पनि सार्वजनिक भएको छ।
स्थानीय ७० वर्षीय पसल सञ्चालक हिगाजी शावर अल–तमिमीले घर छाड्न निकै कम समय दिइएको बताएका छन्। बिरामी रहेकी आफ्नी ९० वर्षीया सासूलाई समेत बोकेर अन्यत्र लैजानुपरेको उनले बताए।
नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय दबाबको माग
प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ।
यता, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन्। अर्थमन्त्री बेजालेल स्मोट्रिचले पनि अनुमति नलिई बनाइएको दाबी गरिएका प्यालेस्टिनी संरचना भत्काउने बताएका छन्। तर ती संरचनाका मालिक र आक्रमणकारीबीच सम्बन्ध रहेको आधार उनले प्रस्तुत गरेका छैनन्।
इजरायली सेनाले कारबाही केही दिनसम्म चल्ने जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा बढाइएको सैन्य अभियान र आवागमन प्रतिबन्धले वेस्ट बैंकका नागरिकको दैनिक जीवन थप प्रभावित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।