आईतवार, कार्तिक २९,२०८३ 07:51:05
  • आईतवार, कार्तिक २९,२०८३ 07:51:05
Global IME Bank Limited

टेक जगतका चर्चित जेनसन हुआङको उत्थानदेखि पतनसम्मको कथा

Bizshala
टेक जगतका चर्चित जेनसन हुआङको उत्थानदेखि पतनसम्मको कथा
New Office

काठमाडौं । कालो छालाको ज्याकेटमा सार्वजनिक कार्यक्रममा उपस्थित हुने शैलीका कारण परिचित एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङसँग सफलता, सम्पत्ति र शक्ति सबै थियो। अमेरिका र चीन दुवै देशका नेतासँग उनको निकट सम्बन्ध थियो।  

लगानीकर्तामाझ लोकप्रिय उनी पारिवारिक व्यक्तित्वका रूपमा समेत परिचित थिए। तर निजी जीवनसँग जोडिएका विवादले उनको प्रतिष्ठामाथि प्रश्न उठेपछि अन्ततः उनले पदबाट राजीनामा दिनुपरेको छ।

६३ वर्षीय हुआङले सन् १९८५ मा विवाह गरेका थिए। यो विवाह एनभिडियाको स्थापना हुनुभन्दा धेरै अगाडि भएको थियो। यही कम्पनीले उनलाई विश्वकै चर्चित प्रविधि उद्यमीमध्ये एक बनाएको थियो।

हुआङ कामप्रति अत्यन्त समर्पित र कडा व्यवस्थापकका रूपमा चिनिन्थे। उनी आफ्ना कर्मचारीबाट उच्च कार्यसम्पादनको अपेक्षा गर्थे। कम्पनीमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका उनका छोराछोरीबाट समेत उनले त्यस्तै अपेक्षा राख्ने गरेको बताइन्छ। तर यसै साता सार्वजनिक भएका निजी सम्बन्धसम्बन्धी विवादले उनको पारिवारिक छविमा गम्भीर धक्का पुर्‍यायो।

एकपछि अर्को गरी दुई महिलासँगको प्रेम सम्बन्धबारे समाचार सार्वजनिक भएपछि उनको कार्यक्षमता र निर्णय क्षमतामाथि समेत प्रश्न उठ्न थाले। पहिलो समाचारमा एक व्यवसायी महिलासँग उनको सम्बन्ध रहेको दाबी गरिएको थियो। ती महिलामाथि चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आरोपसमेत लगाइएको छ। यस विषयले विश्वव्यापी चर्चा पाउनुका साथै लगानीकर्तामाझ पनि चासो र चिन्ता बढाएको थियो।

त्यसपछि एनभिडियाकै स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किंबर्ली पावेलसँग पनि उनको प्रेम सम्बन्ध रहेको समाचार सार्वजनिक भयो। यी घटनाक्रमपछि बिहीबार उनले पदबाट राजीनामा दिएको बताइएको छ।

हुआङको राजीनामाले विश्व सेयर बजारमा अनिश्चितता थपेको छ। पछिल्ला केही सातादेखि नै बजारमा अस्थिरता देखिँदै आएको थियो। अमेरिका र चीनबीच प्रविधिमा अग्रता हासिल गर्ने प्रतिस्पर्धामा एनभिडिया महत्त्वपूर्ण कम्पनी मानिन्छ।

चार ट्रिलियन डलरको कम्पनी बनाउने व्यक्ति

हुआङ एलन मस्क वा मार्क जुकरबर्गजति सर्वसाधारणमाझ परिचित नहोलान्। तर प्रविधि उद्योगमा, विशेषगरी पछिल्ला तीन वर्षमा कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारमा उनको योगदान निकै महत्त्वपूर्ण मानिन्छ।

एनभिडियाले नयाँ प्रविधि सञ्चालनका लागि आवश्यक माइक्रोचिपको बजारमा प्रभुत्व जमाएको छ। पछिल्ला विवादका बाबजुद कम्पनीको बजार मूल्य करिब चार ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरको हाराहारीमा हो।

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धाको केन्द्रमा रहेको एनभिडियालाई नेतृत्व दिएका हुआङको राजनीतिक पहुँच पनि असाधारण थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ दुवै उनीसँग निकट सम्बन्ध राख्न चाहन्थे।

प्रविधि क्षेत्रमा हासिल गरेको असाधारण सफलताका कारण उनलाई ‘टेक जगतका टेलर स्विफ्ट’ समेत भन्ने गरिएको थियो। ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार उनको अनुमानित सम्पत्ति करिब १४५ अर्ब अमेरिकी डलर छ।

सधैँ कालो रङको विशेष पहिरनमा देखिने र लगानीकर्तासामु प्रस्तुति दिँदा हास्यव्यङ्ग्यसमेत मिसाउने हुआङले लामो समयसम्म आफूलाई परिवारप्रति समर्पित व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका थिए। उनले आफूलाई ‘अमेरिकन ड्रिम’ अर्थात् अमेरिकी सपनाको उदाहरणका रूपमा समेत चित्रित गर्ने गरेका थिए।

सन् १९६३ मा ताइवानमा जन्मिएका हुआङ नौ वर्षको उमेरमा परिवारसँगै अमेरिकाको पश्चिमी तटमा बसाइँ सरेका थिए। उनले ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युतीय इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट सोही विषयमा स्नातकोत्तर गरेका थिए।

कलेजमा अध्ययन गर्दाकै क्रममा उनको भेट लरी मिल्ससँग भएको थियो। एउटै प्रयोगशालामा सहकार्य गर्ने उनीहरूले सन् १९८५ मा विवाह गरेका थिए। त्यसको आठ वर्षपछि हुआङले एनभिडियाको स्थापना गरेका थिए।

उनका दुई सन्तान म्याडिसन र स्पेन्सर दुवै अहिले एनभिडियामा उच्च पदमा कार्यरत छन्। सुरुमा गेमिङका लागि प्रयोग हुने कम्प्युटर चिप र सर्किट उत्पादन गर्ने कम्पनीका रूपमा स्थापित एनभिडियाले पछि आफ्नो व्यवसायलाई नयाँ दिशामा विस्तार गर्‍यो। अहिले कम्पनी एआई प्रविधि सञ्चालनका लागि आवश्यक शक्तिशाली प्रोसेसिङ चिप उत्पादनमा अग्रणी छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

‘प्रतिभाशाली तर केही अहङ्कारी’

हुआङले एआईलाई नयाँ औद्योगिक क्रान्तिको संज्ञा दिँदै आएका छन्। उनका अनुसार यसको प्रभाव विद्युत्को आविष्कारजत्तिकै व्यापक हुनेछ।

एनभिडिया अहिले विश्वकै दोस्रो मूल्यवान् कम्पनीका रूपमा रहेको छ। गुगल, मेटा, अमेजन, माइक्रोसफ्ट, स्पेसएक्स, टेस्ला, ओपनएआई र एन्थ्रोपिकजस्ता विश्वका ठूला प्रविधि कम्पनी एनभिडियाका ग्राहक हुन्। यी कम्पनीले एनभिडियाका उत्पादनमा ठूलो रकम खर्च गरिरहेका छन्।

हालै ह्वाइट हाउसमा आयोजित एआई सम्मेलनमा सहभागी ४२ जनामध्ये राष्ट्रपति ट्रम्पसँग भेटका लागि छनोट हुने व्यक्तिमा हुआङ पनि परेका थिए। उक्त भेटमा एलन मस्कसमेत सहभागी थिए। ट्रम्पसँग यी दुवैको निकट सम्बन्ध सार्वजनिक रूपमै चर्चित छ।

हुआङको जीवनी ‘थिंकिङ मेसिन’का लेखक स्टेफन विटले बीबीसीसँग कुरा गर्दै उनलाई एप्पलका दिवंगत प्रमुख स्टिभ जब्सजस्तै प्रविधि क्षेत्रका दूरदर्शी व्यक्तित्वका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार अहिले एआई हार्डवेयर जुन स्वरूपमा प्रयोग भइरहेको छ, त्यसको विकासमा हुआङको ठूलो योगदान छ।

विटले हुआङलाई कडा स्वभावका व्यवस्थापक भन्दै कर्मचारीलाई उनीहरूको क्षमताको उच्चतम सीमासम्म काम गर्न प्रेरित गर्ने व्यक्तिका रूपमा चित्रण गरेका छन्। उनका अनुसार हुआङ अत्यन्त प्रतिभाशाली र विश्वस्तरीय कम्प्युटर वैज्ञानिक भए पनि केही हदसम्म अहङ्कारी तथा आफैँलाई भ्रममा राख्ने प्रवृत्तिका व्यक्ति हुन्।

विटका अनुसार हुआङले आफूलाई पारिवारिक व्यक्तिका रूपमा स्थापित गर्न निकै प्रयास गरेका थिए। पत्नीको प्रशंसा गर्ने र परिवारलाई प्राथमिकतामा राख्ने उनको छवि सार्वजनिक रूपमा महत्त्वपूर्ण थियो।

उनले भनेका छन्, ‘हुआङ आफ्नी पत्नीको प्रशंसा गर्छन् र उनीबारे निकै राम्रा कुरा गर्छन्। अहिलेको विवादले जुनसुकै परिवारलाई पनि नराम्रो असर पार्छ। तर आफूलाई पारिवारिक व्यक्तिका रूपमा स्थापित गर्न र छोराछोरीलाई सधैँ नजिक राख्न यति धेरै प्रयास गरेको व्यक्तिका लागि यो झन् पीडादायी हुन्छ।’

Garima Development Bank
Bizshala
IME remit

दुई महिलासँगको सम्बन्ध सार्वजनिक भएपछि विवाद चुलियो

हुआङको पहिलो प्रेम सम्बन्धबारेको समाचार अक्टोबर २९ मा ‘न्युयोर्क टाइम्स’मा प्रकाशित भएको थियो। समाचारमा एलिस हुआङ नामकी एक महिलासँग उनको सम्बन्ध रहेको उल्लेख गरिएको थियो। ती महिला उनको पारिवारिक सदस्य भने होइनन्।

अमेरिकी अधिकारीहरूले सिंगापुरस्थित कम्पनी मेगास्पिडसँग सम्बन्धित ती व्यवसायी महिला चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लगाएका छन्।

पहिलो सम्बन्ध सार्वजनिक भएपछि हुआङले आफूले पत्नीप्रति बेइमानी गरेको स्वीकार गर्दै परिवारलाई पुर्‍याएको पीडाप्रति माफी मागेका थिए।

त्यतिबेला राष्ट्रपति ट्रम्पसहित एआई उद्योगका अन्य नेताले हुआङको समर्थन गर्दै उनलाई एनभिडियाको नेतृत्वमै रहनुपर्ने बताएका थिए। ट्रम्पले उनलाई ‘सम्मानित व्यक्ति’समेत भनेका थिए।

तर दोस्रो प्रेम सम्बन्धको समाचार सार्वजनिक भएपछि परिस्थिति बदलियो। एनभिडियाको स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किंबर्ली पावेलसँग उनको सम्बन्ध रहेको समाचार बाहिरिएको थियो। पावेल १८ वर्षदेखि कम्पनीमा कार्यरत रहेको बताइएको छ।

यस घटनापछि कम्पनीको सञ्चालक समितिको बैठक बसेको र त्यसपछि हुआङले पद छाड्ने घोषणा भएको थियो।

विवादका बाबजुद ट्रम्पले हुआङले उत्कृष्ट काम गरेको टिप्पणी गरेका छन्। उनले एनभिडियाको प्रमुख पदका लागि एप्पलका प्रमुख कार्यकारी टिम कुकको नामसमेत सुझाएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.