काठमाडौं । स्पेसएक्सको स्टारसिप अन्तरिक्षयान पृथ्वीमा फर्किएपछि प्रक्षेपणस्थलमा जडान गरिएका विशाल यान्त्रिक पञ्जाले हावामै समातेका छन् । अन्तरिक्ष यात्रामा निस्किएको २२ घण्टापछि शनिबार टेक्सासस्थित स्टारबेसमा फर्किएको स्टारसिपलाई प्रक्षेपणस्थलका विशाल यान्त्रिक पञ्जाले सुरक्षित रूपमा समातेका हुन् । अन्तरिक्षबाट फर्किएको स्टारसिपलाई यसरी समातिएको यो पहिलो घटना हो ।
शनिबार बादलले ढाकिएको आकाशबाट बिस्तारै तल झरेको अन्तरिक्षयान प्रक्षेपणस्थलमा आइपुगेपछि लन्च प्याड–२ माथि जडान गरिएका ‘चपस्टिक आर्म्स’ नामका यान्त्रिक पञ्जाबीच सहज रूपमा प्रवेश गरेको थियो ।
यस उपलब्धिपछि स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नो टोलीको प्रशंसा गर्दै बधाई दिएका छन् ।
स्पेसएक्सका अधिकारीहरूले शनिबारको सफलताले स्टारसिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने सम्भावना पुष्टि गरेको बताएका छन् । यसले रकेट तथा अन्तरिक्षयानलाई छिटो र कम लागतमा पुनः सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
यद्यपि, शुक्रबार टेक्सासबाट प्रक्षेपण गरिएको स्टारसिपको पहिलो चरणको बुस्टर केही समयपछि विस्फोट भएपछि कम्पनीले दुवै चरणलाई सफलतापूर्वक समात्ने लक्ष्य भने पूरा गर्न सकेन ।
बुस्टरबाट सफलतापूर्वक अलग भएको माथिल्लो चरणको अन्तरिक्षयानले कक्षमा प्रवेश गरी २६ वटा उन्नत स्टारलिंक भूउपग्रह प्रक्षेपण गरेको थियो ।
स्पेसएक्सकी केट टाइसका अनुसार पृथ्वीमा फर्किने क्रममा अन्तरिक्षयानका इन्जिनले अपेक्षाभन्दा चाँडै काम गर्न छाडेका थिए । बुस्टरको मार्गनिर्देशन प्रणालीले आफू निर्धारित स्थानमा नरहेको पहिचान गरेपछि स्वचालित रूपमा समुद्रतर्फ मोडिने र आत्मविनाश हुने प्रक्रिया सुरु गरेको थियो । बुस्टर विस्फोट हुनुको कारणबारे इन्जिनियरहरूले अनुसन्धान गरिरहेका छन् ।
शुक्रबार बुस्टर पुनः प्राप्त गर्ने प्रयास असफल भए पनि स्पेसएक्सले यसअघि तीनपटक बुस्टरलाई यान्त्रिक पञ्जाकै सहायताले सफलतापूर्वक समातिसकेको छ । ती सफलताले यस प्रविधिको प्रभावकारिता पुष्टि गरेका छन् ।
यस उपलब्धिको नासाले पनि स्वागत गरेको छ । यस दशकको अन्त्यसम्म आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्षयात्रीलाई चन्द्रमामा पुर्याउन स्टारसिपको प्रयोग गर्ने योजनासहित नासाले यस परियोजनामा अर्बौं डलर लगानी गरिरहेको छ ।
नासाका प्रशासक जारेड आइज्याकम्यानले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै यो उपलब्धिलाई ‘लगभग जादुमय’ बताएका छन् ।
यस उडानका क्रममा स्टारसिपले पृथ्वीको १४ पटक परिक्रमा गरेको थियो । यसले अघिल्लो उडानको एकदेखि दुई परिक्रमाको तुलनामा उल्लेखनीय प्रगति गरेको छ । अन्तरिक्षयानले पृथ्वीबाट २६५ किलोमिटर (१६५ माइल) उचाइमा रहेर परिक्रमा गरेको थियो ।
स्पेसएक्सका अनुसार अन्तरिक्षयानका महत्त्वपूर्ण तापप्रतिरोधी ढाल (हिट सिल्ड)सहित सबै प्रणालीले अपेक्षाअनुसार काम गरेको देखिएको छ ।
सन् २०२३ यता पूर्ण आकारको स्टारसिपको यो १५औँ उडान हो भने पृथ्वीको कक्षमा पुगेको दोस्रो उडान हो ।
१२४ मिटर (४०७ फिट) अग्लो स्टारसिप विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट हो । यसलाई चन्द्रमा र मंगल ग्रहसम्मको यात्राका लागि विकास गरिएको हो ।
स्पेसएक्सले आगामी केही महिनाभित्र अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट पनि स्टारसिप प्रक्षेपण सुरु गर्ने अपेक्षा गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।