काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । टिकटकले नेपालको कानून, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।
आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ ।
सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।
टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै पटक–पटक पत्राचार गर्दै आएको छ । करिब ९ महिनाको अवधिमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै ८ वटा पत्र पठाइसकेको छ ।