काठमाण्डौ । चीन सरकारले नेपाललाई ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चीनले विभिन्न परियोजना सञ्चालन गर्नका लागि यो रकम अनुदानका रुपमा दिने भएको हो ।
यो अनुदान रकम चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालनका लागि खर्च हुनेछ । यसअघि पनि चीन र नेपालबीच सन् २०१७ मा भएको यस्तै सम्झौता भएको थियो । जसबाट उच्च पहाडी र हिमाली क्षेत्रमा परियोजनाहरु निर्माण भएका थिए ।
त्यस्तै, प्रधानमन्त्री ओलीको भ्रमणमा चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोगसम्बन्धी सम्झौता पनि भएको छ । तर यो सम्झौताअन्तर्गत नेपालले पाउने रकमका बारेमा भने खुलाइएको छैन ।
‘यसैगरी नेपाल सरकारले चीन सरकारसँग २०२४ देखि २०२९ सम्म गरेर ५ वर्ष अवधिका विभिन्न विकास योजनामा सहयोग लिने विषयमा समेत सम्झौता भएको छ ।
प्रधानमन्त्री नेतृत्वको भ्रमणमा भएको अन्य सम्झौतामा नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, स्वयम्सेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी विषय रहेका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                