काठमाण्डौ । मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा मृत्युको हुनेको संख्या ९५ पुगेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हालसम्म प्राप्त विवरणहरुका अनुसार केन्द्रविन्दू आसपासका चिनियाँ क्षेत्रका घरहरु भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ तथा आसपासका गाउँका दर्जनौं घरहरु भत्किएका छन् ।
चीनको सरकारी न्यूज च्यानल सीजीटीएनका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना छ ।
नेपाली समय अनुसार मंगलबार बिहान ६ः५० मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । चिनियाँ आधिकारिक निकायले भने ६.८ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरिरहेका छन् ।
सो भूकम्पका कारण चीनसँग सीमा जोडिएका नेपाली जिल्लाहरु पनि प्रभावित भएका थिए । कतिपय ठाउँका गाईगोठ भत्किएका छन् भने एक ठाउँको प्रहरी चौकीमा क्षति पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का निकै ठूलो भएका कारण एकाबिहानै काठमाण्डौ र आसपासका सर्वसाधारण समेत घरबाहिर निस्किनुपरेको थियो ।