काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको अनामनगर, न्यूप्लाजा र नागपोखरी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।
साताको पहिलो कारोबार दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । कुनै ब्रोकरमा अलिक बाक्लै उपस्थिति देखिन्थ्यो भने कुनैमा सामान्य वा कम ।
आज हामीले सबैभन्दा पहिला अनामनगरस्थित भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४)बाट स्तम्भको थालनी गर्यौं । उक्त ब्रोकर हाउस पुग्दा लगानीकर्ताको उपस्थिति बाक्लै थियो । दिउँसोको साढे १२ बजेसम्म सेयरबजार ५० अंकले बढीसकेको थियो । लगानीकर्ताहरु बढेको बजार देखेर उत्साहित देखिन्थे ।
सबै लगानीकर्ताहरु एकआपसमा गफिदै थिए । सबैले आ–आफ्नो लगानी रहेको स्टकको सेयरभाउ यतिउति बढ्यो भनेर एकअर्कालाई सुनाउँदै थिए । त्यहाँ उपस्थित प्रायः सबै लगानीकर्ताहरुमा हाइड्रोपावरकै चर्चा थियो ।
त्यत्तिकैमा एउटा लगानीकर्ताले अर्कोलाई सुनाउँदै भने, ‘हाइड्रोपावरमा चमक देखिन थालेको छ, हिमालयन उर्जा विकास कम्पनीको सेयर उठाम कि क्याहो, अझै बढ्यो भने त फाइदा हुन्छ ।’
ती लगानीकर्ताको कुरालाई समर्थन गर्दै अर्को लगानीकर्ताले पनि थप्दै भने, ‘हाइड्रो किन्दा अलिक बिचार त गर्नुपर्छ, अहिले बजारमा राम्रा भन्दा नराम्रा कम्पनी चलेका छन् । हाइड्रोमा पनि अझै राम्रा कम्पनीहरुमा गनिने भनेको चिलिमे, सानिमा माई हाइड्रो र बुटवल पावर कम्पनीहरु हुन् तर उक्त कम्पनीहरुको सेयरभाउ खासै बढेको छैन । जुन कम्पनीको अवस्था राम्रो छैन त्यहि कम्पनीको सेयरभाउ बढी बढेको छ ।’
त्यस्तै, अर्का लगानीकर्ताले भने सोनापुर मिनरल्स आयलको सेयरमा डेढ लाख रुपैयाँ घाटा खाएर पनि बेचेको सुनाउँदै थिए । उनले थप्दै भने, ‘ब्रोकर नम्बर ५८ बाट किनबेच गर्न नहुने रहेछ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमा उक्त ब्रोकर हाउसले धेरैलाई फसाएको छ ।’
उक्त ब्रोकर हाउसमै बसेका अर्का समूहले भने नेपाल फाइनान्सको कुरा गरिरहेका थिए । त्यत्तिकैमा एकजनाले ७१४ रुपैयाँमा नेपाल फाइनान्सको सेयर किनेर घाटा खाएको कुरा अर्को लगानीकर्तालाई सुनाउँदै थिए ।
‘अस्ति भर्खरै नेपाल फाइनान्सको चर्चा भएर ७१४ रुपैयाँमा उठाएको आज झनै घट्यो, तर मन आत्तिएको छैन भोलि अझै घट्यो भने अझै किनेर कित्ता थप्छु’ उनले भने, ‘यो कम्पनीको सेयर लगातार जस्तो घटिसकेको छ अब त बढ्ने नै पालो हो, कसो नबढ्ला र १’
उनको कुरालाई समर्थन गर्दै छेउमै बसेका अर्का लगानीकर्ताले भन्दै थिए, ‘पछिल्लो बजारको अवस्थामा फाइनान्सको सेयरमा ढुक्क नै हुन नसकिने भो’ उनले भने, ‘बरु अहिले हाइड्रो सेक्टरमा चार्म छ, म त किने पनि हाइड्रो नै छानेर किन्छु ।’
साथै अर्का एकजना लगानीकर्ताले भने गर्भनर महाप्रसाद अधिकारीको बहिर्गमन र अर्को नयाँ गभर्नर आउने र नीति तथा व्यवस्था नै परिवर्तन हुने हल्ला गरी लगानीकर्तालाई फसाउने षड्यन्त्र मात्रै रचिएको कुरामा टिप्पणी गर्दै थिए ।
बजार त्यहि ५०/५२ को विन्दुमा तलमाथि गर्दै थियो । हामी त्यहाँबाट निस्केर सिधै नागपोखरीमा रहेको ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिजतर्फ गर्यौ ।
उक्त ब्रोकर हाउसमा पनि फाइनान्स समूह र हाइड्रो सेक्टरकै चर्चा हुँदै थियो भने केहीले बोनस सेयरका विषयमा कुरा गर्दै थिए । एकजना लगानीकर्ताले भने आत्तिएको स्वभावमा नेको इन्स्योरेन्सको हकप्रद बुकक्लोज भयो रु भन्दै सोध्दै थिए । उनको प्रश्नको जवाफ दिदैं अन्य लगानीकर्ताले बुकक्लोज भइसकेको बताउँदै थिए ।
एकजना लगानीकर्ताले भने नेपाल फाइनान्सको सेयर किन्न चाहिरहेको आशय ब्यक्त गर्दै भने, ‘नेपाल फाइनान्सको सेयर किनुम कि भनेको के गरुँ गरुँ भइरहेको छ, अझै घट्ने पो हो की’ उनले भने, ‘अझ १/२ दिनपछि घट्यो भने उठाउनु पर्ला ।’
उनकै छेउमा बसेका अर्का लगानीकर्ताले भने ‘लो क्याप’ भएका विकास बैंकहरु किन्न सुझाव दिदै थिए । ‘अहिले बजारमा लो क्याप कम्पनीहरु धेरै चलेका छन्, बरु लो क्याप भएका विकास बैंकहरु उठाउनु न’ उनले भने, ‘सप्तकोशी डेलपमेन्ट बैंक र सिन्धु विकास बैंक जस्ता लो क्याप कम्पनीहरु नै उठाउँदा फाइदा होला बरु ।’
अरु लगानीकर्ताहरु भने हाइड्रोपावरको विषयमा गफिदै थिए । त्यत्तिकैमा एउटाले भने, ‘बजारमा जुनसुकै सेक्टरको पनि राम्रो भन्दा नराम्रो कम्पनी नै बढी चल्ने भो अब, हाइड्रोमा पनि राम्रो कम्पनीमा गनिने साहज उर्जा खासै बढ्न सकेको छैन अरु कम्पनीको सेयरभाउ ह्वारह्वारती बढीरहेको छ ।’
दिउँसोको २ बजिसकेको थियो । बजार बन्द हुन अब एक घण्टा मात्रै बाँकी थियो । हामी उक्त ब्रोकर हाउसबाट पुनः अनामनगरतर्फ नै लाग्यौं । त्यहाँ हामी ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा छिर्यौं ।
त्यहाँपनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । त्यहाँपनि हाइड्रोकै विशेष चर्चा भइरहेको थियो । त्यत्तिकैमा एकजनाले भने, ‘यो न्यादी हाइड्रोपावरको सेयर लगातार बढी रहेको छ त हाइड्रो कम्पनीहरुमा राजा नै हुने भयो कि क्या हो ।’
उनको भनाईलाई समर्थन गर्दै अर्का लगानीकर्ता पनि हिमालयन पावर पार्टनरको सेयर किन्ने आशय व्यक्त गर्दैै थिए । उनले भने, ‘आज र भोलिमा यो हिमालयन पावर पार्टनरको सेयर रातो भयो भने त किन्ने हो ।’
उक्त ब्रोकरहाउसमै रहेका अर्का लगानीकर्ता भने बोनस सेयरका विषयमा कुरा झिक्दै थिए । ‘पछिल्लो समय बजारमा कम्पनीहरुको बोनस सेयरमा लगानीकर्ताको चार्म घट्न थालिसक्यो’ उनले भने, ‘बोनस सेयर बढ्दो बजारका लागि ठिक छ तर अहिलेको अवस्थामा बोनस सेयर लगानीकर्ताका लागि खासै उचित छैन ।’
कोहीले भने समग्र अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै अब बजार केही दिनसम्म बढ्न सक्ने प्रक्षेपण गर्दै थिए । एकजनाले भने, ‘बैंकहरुमा तरलता अधिक छ, विस्तारै कर्जा प्रवाह बढेर बैंकहरुको सीडी रेसियो बढ्दै गइरहेको छ, आयात पनि राम्रो हुँदै छ, अब बजार खासै ठूलो अंकले नघट्ला ।’