काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको अनामनगर, न्यूप्लाजा र नागपोखरी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।
साताको पहिलो कारोबार दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । कुनै ब्रोकरमा अलिक बाक्लै उपस्थिति देखिन्थ्यो भने कुनैमा सामान्य वा कम ।
आज हामीले सबैभन्दा पहिला नागपोखरीस्थित प्रज्ञान सेक्युरिटिज प्रालि(ब्रोकर नम्बर १०)बाट नियमित स्तम्भको थालनी गर्यौं । उक्त ब्रोकर हाउस पुग्दा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । साढे ११ बजेतिर ब्रोकर नम्बर १० मा पुग्दा नेप्से परिसूचक झिनो अंकले बढेको थियो ।
लगानीकर्ताहरु सबै आ–आफ्नै सुरमा थिए । केही लगानीकर्ता आ–आफ्नै स्क्रिप्ट हेर्दै थिए भने कोही अन्य गफमा मस्त देखिन्थे । बजारले खासै लय समाउन नसक्दा उक्त ब्रोकर हाउसमा रहेका लगानीकर्तामा खासै उत्साहपन देखिन्नथ्यो ।
केही लगानीकर्ताहरु भने हाइड्रोको विषयमा गफिँदै थिए । त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अहिले त हाइड्रोपावर सेक्टरकै चर्चा छ, साहज उर्जा राम्रो होला जस्तो छ, यसो घटेको हेरेर उठाउनु पर्ला’ उनले भने, ‘सिइडीबी होल्डिङ्स त ह्वात्तै बढ्यो त भाउ माथि नै पुग्छ जस्तो छ ।’
उनको कुरालाई व्यङ्ग्य गर्दै हासो मजाकमा अर्का लगानीकर्ताले भने, ‘एउटा गीत नै छ, त राम्रा जति हाम्रा हुँदैनन्, हाम्रो जति राम्रा हुँदैनन् हो यस्तै छ हाम्रो अवस्था पनि राम्रो र बढ्ने खालका सेयर हामीसँग छैन र हामीसँग भएका कम्पनी कहिल्यै बढ्न जानेनन् ।’
उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरु एकआपसमा खासै अन्तरक्रिया गरिरहेका थिएनन् । सवा १२ भइसकेको थियो । हामी उक्त ब्रोकर हाउसबाट निस्किएर न्यूप्लाजास्थित ब्रोकर नम्बर ५९ दिव्या सेक्युरिटिज प्रालितर्फ लाग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै थियो ।
त्यहाँभने लगानीकर्ताहरु एकआपसमा अन्तरक्रिया गरिरहेका थिए । नेप्से परिसूचक ६ अंकले बढेको थियो । सो ब्रोकर हाउसमा पनि सिइडीबी होल्डिङ्सकै चर्चा चलिरहेको थियो । त्यत्तिकैमा एउटा लगानीकर्ताले भने, ‘सीएचडीसी त खत्रा बढीराको छ त, २५ सय सम्म पुग्ने हल्ला छ त के हो कुरा’ उनले जिज्ञासाको स्वभावमा भने, ‘कम्पनीको रिपोर्ट पनि राम्रै आउने जस्तो देखिन्छ, साच्चिकै २५ सय पुग्ला र नभए त किन्न हुन्थ्यो ।’
उनको कुरालाई खण्डन गर्दै अर्का लगानीकर्ता भने हाइड्रो नभई नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर किन्न उचित हुने बताउँदै थिए । ‘हाइड्रो त जे पनि हुन सक्छ बरु म त निफ्रा अहिले घटेकै बेलामा उठाउने सोचिराको छु’ उनले भने, ‘हाइड्रोमा जस्तो अलिक रिस्क नहोला कि !’
उक्त ब्रोकर हाउसमा काठमाण्डौ महानगरपालिकाले गरिरहेको कार्यमा समेत छलफल भएको थियो । एकजना लगानीकर्ताल भने, ‘अहिले त काठमाण्डौं महानगरपालिकाले न्यूरोडमा भएका तारहरु हटाएर रङरोगन गरेर चिटिक्कै बनाएछ त’ उनले भने, ‘जे हो काठमाण्डौंलाई सफा र राम्रो बनाउने काम भइरहेको छ ।’
त्यस लगानीकर्ताले बोल्न नभ्याउँदै अर्का लगानीकर्ताले भने उनको कुरा खण्डन गर्दै भने, ‘हाम्रो नेपालीको अवस्था अहिले यस्तो छ, कसैको घरमा रङरोगन लगाउन समेत खुसि हुनुपर्ने’ उनले भने, ‘काठमाण्डौं महानरपालिले गरेको त्यो काम प्रगति भन्न मिल्दैन त्यो त केवल सुधार मात्र गरिएको हो, हामी नेपाली यस्ता स–साना सुधारमा पनि रमाउनुपर्ने अवस्था छ अहिले ।’
दिउँसोको साढे १ बजिसकेको थियो । हामी त्यस ब्रोकर हाउसबाट निस्किएर अनामनगरस्थित ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजतर्फ लाग्यौं । त्यहाँ पुग्दा नेप्से परिसूचक घटिसकेको थियो । लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो ।
उक्त ब्रोकर हाउसमा पनि हाइड्रो कम्पनीहरुकै चर्चा चलिरहेको थियो । कसैले रिभर फल्सको कुरा गर्दै थिए भने कसैले कालिका पावर कम्पनीको । एकजना लगानीकर्ताले रिभर फल्स पावरको सेयर समयमै नबेच्दा झनै घाटा ब्यहोर्नु परेको गुनासो सुनाउँदै थिए ।
त्यस्तै, एक लगानीकर्ता भने कालिका पावर कम्पनीको सेयर ६ सय रुपैयाँमा नकिनेको कुरामा पछुताउँदै थिए । उनले भने, ‘यो कालिका पावर कम्पनीको सेयर ६०० रुपैयाँमा किन्नुपर्ने रैछ अहिले ६०५ रुपैया पुगिसक्यो’ उनले भने, ‘यसको सेयर ६४० रुपैयाँसम्म पुगेको रैछ, बोनस सेयर पनि राम्रै दिन्छ यो कम्पनीले त कस्तो पछुतो लाग्यो ।’
एउटा लगानीकर्ता भने मस्त फोनमा गफ गर्दै थिए । उनले फोनमा भन्दै थिए, ‘मौद्रिक नीति फागुन १५ मा आउने कुरो छ, अब सेयरबजार सुधारको स्थिर नीति आउला भन्ने त्यहि आशा छ’उनले भने, ‘मौद्रिक नीति भनेजस्तो आए त बजार माथि जान्थ्यो कि भन्ने आशा हो ।’
त्यस्तै उनकै छेउमा बसेका अरु लगानीकर्ताहरु पनि मौद्रिक नीति समीक्षाकै विषयमा कुरा गर्दै थिए । एकजनाले भने, ‘मौद्रिक नीति समिक्षामा बैंकहरुलाई खुकुलो नीति ल्याउने हल्ला छ त के हो कुरा’ उनले भने, ‘बैंकहरुलाई खुकुलो नीति ल्याएर सेयर किन्न दिने हो भने बल्ल बजारमा ठूलो रकम भित्रिएर बजारले लय समाउन सक्छ ।’