काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उनलाई डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ ।
उनी शनिबार पोखरामा एक कार्यक्रम उद्घाटनका क्रममा हाइड्रो ग्यास भरिएको बेलुन पड्किएर आगलागी हुँदा घाइते भएका थिए । उनीसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य समेत घाइते भएका थिए ।
दुवैजनालाई शनिवार नै अस्पताल भर्ना गरिएको थियो । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको अस्पतालले जनाएको छ ।
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’
![](https://bizshala.com/uploads/67b2d71cb864d.jpg)
मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पतालको भनाइ छ ।