काठमाण्डौ । निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आएता पनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।
एकदुम्जा—मरिनखोला—कपिलकोट—लालबन्दी सडक,सिन्धुलीको निर्माण कार्यस्थलमा जयन्ती—विरुवा—ड्रागन जे.भीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियारसहित आक्रमण गरी सख्त घाइते बनाइएको महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा भत्सर्ना गर्दै घटनाप्रति खेद समेत व्यक्त गरे ।
उक्त आक्रमणमा संलग्नलाई तत्काल कानूनी कठघरामा ल्याई कारवाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कारवाही नगरिए देशभरका निर्माण कार्य ठप्प पारी पेशागत सुरक्षाका लागि महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।