काठमाण्डौ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहिबार यस्तो आदेश दिएको हो ।
१० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।
पक्राउ पर्नेहरूमा जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल९सुनार०, फूलकुमारी ९फूलमाया राई०, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर रहेका छन् ।
अदालतले जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक र विष्णुकुमारी तुलाधरलाई जनही ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकी ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरेको छ ।
सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम ३५ जनामाथि संगठित अपराधको मुद्दा दायर गरिएको हो । बाँकी २२२ जनाविरुद्ध सहकारी ऐन अन्तर्गत सजाय माग गरिएको छ ।
प्रहरीको अनुसन्धान अनुसार, ४,१६८ जना पीडितहरूले २८१ वटा जाहेरी दर्ता गराएका थिए । अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भई व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनीअन्तर्गतका १४ कम्पनीहरूमा अवैध लगानी गरिएको खुलासा भएको छ ।