काठमाण्डौ । उपभोक्ता मुद्रास्फीति सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्म उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ४.१६ प्रतिशत रहेको छ ।
जुन यो गत आवको तुलनामा ०.८५ अंकले कम हो । गत वर्षको सोही अवधिसम्म मूल्यबृद्धि ५.०१ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ ।