काठमाण्डौ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् । नेपाली समय अनुसार आज बिहान ३ः१२ मा चार अन्तरिक्ष यात्री बोकेको स्पेसएक्स क्याप्सुल फ्लोरिडाको तट नजिकै समुन्द्रमा अवतरण गरेको थियो ।
दुवैजना अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरुको अनुहारमा मुस्कान थियो । उनीहरुलाई पृथ्वीमा पुग्न १७ घण्टा लागेको थियो । लामो समयसम्म तौलहीन अवस्थामै बिताएकाले उनीहरूलाई स्ट्रेचरमा राखेर क्याप्सुलबाट बाहिर निकालिएको थियो ।
नासाको कमर्शियल क्रु प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यको प्रशंसा गरे।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा परीक्षण वाहन स्टारलाइनरमा आईएसएसतर्फ लागेका थिए । त्यहाँ आठ दिन बिताएपछि फर्कने उनीहरुको योजना थियो तर यानमा आएको गडबडीका कारण उनीहरु ९ महिनादेखि अलपत्र परेका थिए ।